२०७८ मङ्सिर १९ गते आइतवार
२०७८ मङ्सिर १९ गते आइतवार

रुकुम पश्चिममा जारी निषेधाज्ञा एक साता थप

रुकुम पश्चिम जिल्लामा गत सातादेखि जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार बिहान ४ बजेदेखि आगामी आइतबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

आइतबार चार संक्रमित थपिएपछि संक्रमण अझ फैलन नदिन भन्दै एक साता निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए । संक्रमणको जोखिम भएको क्षेत्रमा थपिएको र कम जोखिम क्षेत्रको निषेधाज्ञा हटाइएको प्रजिअ पौड्यालले बताए ।

यसअघिको निषेधाज्ञा आइतबार राति १२ बजेसम्म थियो । अत्यावश्यकीय सेवाबाहेकका सबै सेवा बन्द रहने उनले बताए ।

यसैबीच स्वास्थ्य कार्यालयका सेवा भने फेरि सञ्चालनमा आएका छन् । कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण भएपछि कार्यालयले आकस्मिक र सुत्केरीबाहेकका सेवा बन्द गरेको थियो । अरू कर्मचारी तथा स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएसँगै आइतबारदेखि पूर्ववत् रुपमा सेवा सञ्चालन भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा। महेश चौलागाईंले बताए ।