२०८१ मङ्सिर २१ गते शुक्रवार
२०८१ मङ्सिर २१ गते शुक्रवार

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।

८४ वर्षीय मुखर्जीको उपचारका क्रममा सोमबार निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन् । उनले ट्वीटमार्फत बुवाको केही समयअघि मृत्यु भएको जानकारी दिएका हुन् ।

पूर्वराष्ट्रपति मुखर्जीलाई केही दिनअघि सैनिक अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि अगस्ट १० मा मुखर्जी आफैंले ट्वीट गर्दै त्यसको आफूलाई कोरोना पुष्टि भएको बताएका थिए ।

झन्डै ५ दशक भारतीय कांग्रेसमा रहेर सक्रिय राजनीति गरेका मुखर्जी सात पटक सांसदमा निर्वाचित भएका थिए । राजनीतिमा आउनुअघि उनले शिक्षण र पत्रकारिता पेसा अँगालेका थिए । उनी सन् १९६९ मा राज्यसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि लगातार उनी चारपटक राज्यसभा सदस्यमा निर्वाचित भएका थिए ।

सन् २००४ मा भने पश्चिम बंगालको जांगीपुर क्षेत्रबाट उनी लोकसभा सदस्यमा निर्वाचित भएका थिए । सन् २००९ मा त्यसै क्षेत्रबाट उनी पुनः निर्वाचित भएका थिए ।