२०७७ असोज ४ गते आइतवार
२०७७ असोज ४ गते आइतवार

विज्ञान प्राविधिको विकास नै आजको आवश्यकता

लेखक : नेत्रलाल भट्टराई (नारायण)

भनिन्छ नि, आजको युग विज्ञान र प्राविधिको युग, जुन जुन कुराहरूले साच्चिकै देशको मुहार फेरेका छन् ती सम्पुर्ण विज्ञान प्राविधिकै उपज हुन । कुनै पनि मुलुकको समग्र विकासका लागि विज्ञान प्रविधिको विकास हुनु अति आवश्यक मानिन्छ ।

विज्ञान प्रविधिले मुलुकको सामाजिक, आर्थिक विकासमा अहम् भूमिका निर्वाह गरेको हुन्छ । विज्ञान प्रविधिको समुचित विकासले नै गरिबी निवारण गर्न, कृषि व्यवसायको आधुनिकीकरण गरी जनताको जीवनस्तर माथि उकास्न, रोजगारी सिर्जना गर्न, वातावरणीय विनाशलाई रोक्न जस्ता विभिन्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । यसले कृषि र कृषिमा आधारित आधुनिक उपकरण, जैविक प्रविधिको संरक्षण र विकास, वन र वनस्पतिजन्य औषधिको पहिचान एवम् प्रशोधन, वैकल्पिक ऊर्जा स्रोत– सौर्यऊर्जा, वायु ऊर्जा, बायो ग्यास आदि क्षेत्रको विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।

बास्तबमा नेपालको आवश्यकताहरूलाई पूरा गर्ने किसिमको विज्ञान र प्रविधिको प्रयोग गर्ने कुरामा हामी पछाडि परेका छौँ । कतिपय यस्ता क्षेत्र छन्, जसमा हामीले लगानी गर्‍यौँ भने, हामीलाई ढिलोचाँडो प्रतिफल पनि दिन्छ । नेपाल कृषिप्रधान मुलुक भनिए पनि अहिले कृषिजन्य उत्पादनहरू आयात गर्नुपर्ने अवस्थामा पुगेको छ । यो मुलुकजस्तो विविध प्रकारको कृषि उत्पादन गर्न सकिने सायदै अन्त कतै होला ।

नेपाल समुद्री सतहबाट करिब ६० मिटरदेखि सगरमाथाको शिरसम्मको उचाइ भएको देश हो । धानलगायत अन्य खाद्यवस्तुहरू, वन जंगल र पैदावरको क्षेत्रमा नेपालमा विविधता छ । कृषि र वनका उत्पादनलाई प्राथमिकतामा राखेर, तिनीहरूको परिमार्जन र विकास गर्दै लैजान सक्यौँ भने हाम्रो आर्थिक क्रान्ति नै हुन्छ ।

हामीसंग यसका तमाम उदाहरण छ, जस्तैः कृषि उपजको वृद्धिको लागि मलखाद चाहिन्छ । तर, अहिले प्रयोगमा भएका रासायनिक मलले जमिनको गुणस्तर बिगारेका छन् । कीटनाशक औषधि पनि धेरै हानिकारक भइरहेका छन् । त्यसैले नयाँखाले मलखाद र कीटनाशक औषधि हामीलाई चाहिएको छ । हामीले हरेक कृषकलाइ रासायनिक मल भन्दा पनि प्राङरिक मल (जैविक मल) को प्रयोग बढी गर्ने प्रोत्साहन गर्नुपर्दछ। यी यस्ता कुरा हामीले विकास गर्नुपर्छ ।

हामीले परम्परागत प्रविधि जोगाउनुपर्ने भइसकेको छ । औषधिमुलो, हस्तकला, न्यानो प्रविधि जस्ता हाम्रा परम्परागत प्रविधिलाई आधुनिकीकरण गर्दै अगाडि बढाउनुपर्छ । त्यसमा पनि हाम्रो क्षमता छ । वैज्ञानिक पर्यटन पनि सम्भव छ । मेडिकल पर्यटन, विज्ञान पर्यटन, अन्वेषणात्मक पर्यटनलाई विकास गर्न सकिन्छ । यसमा पनि हाम्रो क्षमता छ । जडीबुटीबाट औषधि बनाएर ‘हाई भ्यालु प्रोडक्ट’मा निर्यात गर्नसमेत हामी सक्षम छौँ ।

विश्वका विकसित देशहरूको आर्थिक विकासको प्रमुख आधार विश्वविद्यालयको अनुसन्धानबाट प्रविधि विकास र प्रविधिलाई व्यापारीकरण हो । स्मार्ट फोन, दैनिक इन्टरनेट, गुगल, फेसबुक आदि कुनै बेला विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीको अथक अनुसन्धानको प्रतिफल हो । केही प्रविधिले विश्वलाई परिवर्तन गरिदिएका छन् भने केही मानिसको जीवनका लागि वरदान भएका छन् । वैज्ञानिक अनुसन्धानमा जोड दिएका र त्यसमा सक्दो लगानी गरेका देशले नै आर्थिक समृद्धि हासिल गर्न सफल भएका छन् ।

नेपालमा सरकारले लामो समय देखि विज्ञान तथा प्रविधिलाई प्राथमिकता दिँदै आएता पनि त्यो प्राथमिकता कागजमा मात्रै सिमित छ। यसप्रति ठोस नियम तथा कार्यक्रम प्रस्तुत गर्न नसक्दा योजनाहरु कागजमै सिमित हुने गरेका छन् । यसै गरी विज्ञान तथा प्रविधिमा अपर्याप्त बजेट, प्रयोगात्मक शिक्षाको कमि, स्तरीय प्रयोगशाला र अनुसन्धान केन्द्रको अभाव जस्ता विभिन्न समस्याका कारण नेपाल विज्ञान र प्रविधिमा पछि पर्दै आएको छ ।

नेपालको विज्ञान तथा प्रविधिलाई विकास गर्न सरकारले सर्वप्रथम अनुसन्धानलाई प्राथमिकतामा राखी विश्वविधालय अन्तर्गत हरेक प्रदेशमा स्तरीय अनुसन्धान केन्द्र र प्रयोगशाला स्थापना गर्न जरुरी छ । उक्त अनुसन्धान केन्द्रमा हरेक वर्षका उत्क्रिष्ट करिब ५/७ वटा योजनालाई सरकारले खर्च व्योहर्ने गरी अघि बढाउने व्यवस्था गर्न जरुरी छ । यसले विधार्थीलाई नयाँ अविष्कार गर्न प्रोत्साहित गर्नुका साथसाथै व्यक्तिगत मनोबल बढाउन समेत मद्धत गर्छ । यसै गरी नेपाली सैद्धान्तिक शिक्षा प्रणालीलाई परिमार्जन गरी व्यावहारिक तथा प्रयोगात्मक शिक्षा प्रणालीलाई प्राथमिकतामा राखेर पाठ्यक्रम विकास गर्न जरुरी छ ।

हाम्रो देश संघीयतामा गैसकेको यस समयमा हामी संग स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार गरि ३ वटा सरकार छन। हरेक तहगत सरकारले नि पनि आफ्नो निति तथा कार्यक्रममा बिज्ञान प्राविधि युक्त कार्यक्रम ल्याउनुपर्दछ, जुन कागजमात्रै होईन कि एक्सन अर्थात काममा । चाहे कृषिमा, चाहे शिक्षा, स्वास्थ, यातायात, सञ्चार आदि सबै क्षेत्रमा प्राविधिको व्यापक प्रयोग गरि उत्पादन लागत हटाउनु पर्दछ, भने हामीमा भएको युवा जनशक्तिलाई प्राविधिमैत्री जनशक्ति निर्माण गरि हरेक क्षेत्रलाई आधुनिकरण गर्दै लैजानु पर्दछ।

विशेष गरी अहिले कृषि व्यवसायको आधुनिकीकरण तथा आवश्यक उपकरण खरिद गरी कृषकहरुलाई कृषिमा विज्ञान प्रविधिको आवश्यकता बारे प्रशिक्षण र सचेतनात्मक कार्यक्रमको संचालन गर्न जरुरी छ । ट्राफिक व्यवस्थापन, सरकारी कार्य, सुरक्षा, विकासनिर्माणका कार्य जस्ता अन्य सम्पूर्ण सम्भावित क्षेत्रलाई विज्ञान प्रविधि मैत्री बनाउन तर्फ सरकार अगाडी बढ्नु पर्छ तबमात्र देश साच्चिकै आर्थिक सम्पन्न तथा धनी बन्न सक्छ। सबैले आफ्नो ठाउँबाट पहल गरौं जिम्मेवार स्थानीय तह, जिम्मेवार सरकार तथा जिम्मेवार नागरिकको पहिचान व्यक्त गरौं ।

नेत्रलाल भट्टराई (नारायण)
अध्यक्ष, बिज्ञान शिक्षक समाज, तुलसीपुर दाङ