२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

समुदाय स्तरमा संक्रमण बढेपछि ‘अन द स्पट’ स्वाब संकलन

समुदाय स्तरमा कोरोनाको संक्रमण देखिन थालेपछि दाङमा पीसीआर परीक्षणको लागि ‘अन द स्पट’ स्वाब संकलन थालिएको छ। दाङमा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि स्थानीय सरकारको अगुवाइमा परीक्षण बढाउन थालिएको हो।

तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र गढवा गाउँपालिकाका समुदायस्तरमा कोरोनो संक्रमण देखिएको पुष्टि भएपछि जिल्लामा उच्च सर्तकता अपनाउन र समुदायको वास्तविक अवस्था बुझन स्थानीय सरकार सक्रियता देखाउन लागेका हुन्।

शुक्रबारदेखि सुरु गरिएको ‘अन द स्पट’ स्वाब संकलन प्रत्येक दिन सुचारु गरिएको छ। नगरको स्वास्थ्य शाखा, विपद व्यवस्थापन शाखाको अगुवाइमा तुलसीपुरका चोक—चोकमा स्वाब संकलन गरिएको छ।

‘समुदायमा संक्रमणको यथार्थ अवस्था बुझन हामीले रेन्डमली ‘अन द स्पट’ स्वाब संकलन अभियान चलाएका छौँ, यो नमुना अभियान हो । स्वास्थ्यको टिमले नागरिकहरुको घर दैलोमा पुगेर परीक्षण गर्न लागिपरेको छ । भीडभाड हुने ठाउँमा परीक्षण गरिरहेका छौँ, त्यहाँ कोरोना छ छैन भनेर अब वास्तविकता आउने छ।’ उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षण तथा कोरोना फोकल पर्सन विमल केसीले बताए । बजार क्षेत्रका भीडभाड हुने क्षेत्र, र त्यससँग सम्बन्ध व्यक्तिलाई परीक्षणको दायरामा ल्याउन लागिएको पनि उनको भनाई छ ।

दाङमा अहिलेसम्म ७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ति प्रादेशिक अस्पतालका ९ जना स्वास्थ्यकर्मिहरुमा कोरोना देखिएपछि तुलसीपुरमा उच्च सतर्कता अपनाईएको छ ।

दाङमा भदौ १५ देखि लागु भएको लकडाउनका कारण ब्यापार,ब्यबसाय र नागरिकहरुको चहलपहल पुर्णरुपमा ठप्प रहेको छ ।