२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

माछा मार्न गएका किशोरको बाघको आक्रमणबाट मृत्यु

फाइल तस्वीर ।

बर्दियामा माछा मार्न गएका एक किशोरको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

सोमबार ५ जनासहित मधुवन नगरपालिका—३ स्थित कोठियाघाट सामूदायिक वनमा रहेको तालमा माछा मार्ने क्रममा बाघले लतारेर लगेको ती किशोरको शव बिहीबार फेला परेको प्रहरीले जनाएको छ ।

मधुवन—३ भगरैयास्थित फुफुका छोराका घरमा बस्दै आएका राजापुर—६ का १३ वर्षीय विशाल वलीको बाघले आक्रमण गर्दा मृत्यु भएको प्रहरी नायव उपरीक्षक योगेन्द्र खड्काले बताए ।

माछा मार्न गएका चार जना बाघको आक्रमणबाट ज्यान बचाएर घर फर्केका थिए । प्रनाउ खड्काका अनुसार घरमा डरले वलीलाई बाघले लतारेर लगेको भनेका थिएनन् । आफन्तले बुधबार प्रहरीलाई वली हराएको जानकारी गराएका थिए ।

दुई दिन लगातार खोजी गरेका प्रहरी र स्थानीयवासीलाई उनका चार जना साथीले बाघले लतारेर लगेको ठाउँ देखाएपछि बिहीबार बेलुकी उनको शव फेला परेको प्रनाउ खड्काले बताएको खबर कान्तिपुरमा प्रकाशित छ ।