२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

वृद्धको हत्या गरेर टाउको प्रहरीलाई बुझाएपछि ….

सांकेतिक तस्वीर ।

एक युवकले ६५ वर्षीय पुरुषको हत्या गरेर प्रहरीलाई टाउको बुझाउँदै आत्मसमर्पण गरेका छन्।

धादिङ निलकण्ठ नगरपालिका –१३ खलचेत भन्ने ठाँउमा यो घटना बिहीबार राति भएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीका अनुसार खलचेतका २६ वर्षीय राजु परियार राति सवा एक बजे हत्या गरिएका पुरुषको टाउको र खुर्पा बोकेर प्रहरी कार्यालयमा पुगेका थिए। ‘मैले मान्छे मारेर टाउको लिएर आएको छु’ भन्दै मध्यरातमा परियारले प्रहरी समक्ष आत्मसमर्पण गरेको रेग्मीले बताए।

परियारले खलचेतकै ६५ वर्षीय सोम बहादुर गुरूङको हत्या गरेका हुन्। हत्या गरेपछि राति सवा एक बजे झोलामा टाउको र हत्यामा प्रयोग भएको खुर्पा लिएर उनी प्रहरी कार्यालय पुगेका थिए। उनीहरुबीच आपसी विवादका क्रममा हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी रेग्मीले बताए।

मृतकको शव पोष्टमार्टमको तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको रेग्मीले बताए।