२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

रुपन्देहीकी ९६ वर्षीया वृद्धाले घरमै बसेर जितिन् कोरोना

कोरोना भाइरस संक्रमित रुपन्देहीकी ९६ वर्षीया वृद्धाले अस्पताल नै नगई कोरोना जितेकी छन्। रुपन्देहीको सियारी गाउँपालिका १ की उनले घरमै बसेर कोरोना जितेकी हुन्।

कुनै लक्षण नदेखिएकी उनले कोरोना संक्रमणको १४ दिन पार गरेकी छन्। सियारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धीबहादुर घर्तीले घरमै बसेकी उनलाई थप सात दिन घरकै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताए।

रुपन्देहीको एक बैंकमा कार्यरत उनका नातीबाट उनमा कोरोना सरेको थियो। नातीको स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना देखिएपछि कन्ट्यक ट्रेसिङ्गका क्रममा ९६ वर्षीया हजुरआमा र ५४ वर्षीया आमालाई पनि कोरोना देखिएको थियो।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख घर्तीका अनुसार संक्रमण देखिएका एकै घरका ९६ वर्षीया हजुरआमा र आमा घरमै होम आइसोलेसन र नाती भैरहवा होम आइसोलेसनमा रहेका थिए।

उनीहरु तीनै जनामा कोरोनाको लक्षण अहिले नदेखिएको र १४ दिनको होम आइसोलेसनको बसाईपछि ड्ब्लुएचओ र स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार उनीहरुलाई ७ दिनको होम कोरेन्टाइन बस्नेगरी डिस्चार्ज गरिएको स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिए। उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको उनको भनाइ रहेको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ।