२०७७ असोज ४ गते आइतवार
२०७७ असोज ४ गते आइतवार

विद्यालय तत्काल नखुल्ने, पढाइ घरबाटै

कोरोना भाइरस संक्रमण बढिरहेका बेला तत्काल विद्यालय नखुल्ने भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विधिबाटै पठनपाठनलाई अगाडि बढाउने निर्णय गरेको छ।

कोरोना संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहेकोले शैक्षिक संस्थाहरू तत्काल खुल्ने सम्भावना नरहेको भन्दै मन्त्रालयले अनलाइनलगायत विधिबाटै सिकाइ निरन्तरता दिन लागेको हो।

यो शैक्षिक सत्रको साडे चार महिना सकिइसकेको छ। यस्तो अवस्थामा शैक्षिक सत्र खेर जान नदिई कसरी पठनपाठन गरिन्छ त ?

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका अनुसार रेडियो, टेलिभिजन, पाठशाला र भर्चुअल कक्षा गरी चारवटै तरिकाबाट वैकल्पिक शिक्षा सञ्चालन भइरहेका छन्।

सुगमदेखि दुर्गमसम्मका विद्यार्थीले घर नै शिक्षालय वा घरमै बसेर वैकल्पिक विधिबाट सिकाइलाई निरन्तरता दिनुपर्ने उनले बताए।

विद्यालय, प्राविधिक र उच्च शिक्षामा वैकल्पिक पद्धतिबाट पठनपाठन सुरू भइसकेकोले त्यसैलाई निरन्तरता दिने शिक्षा मन्त्रालयको तयारी रहेको खबर सेतोपाटीमा प्रकाशित छ।