२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

आज बिपीको १०७औँ जन्मजयन्ती

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज १०७औँ जन्मजयन्ती मनाइँदैछ ।

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका कोइरुलाको जन्म वि.सं. १९७१ भदौ २४ गते भएको थियो ।

उनले नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनर्स्थापनाका लागि कठोर सङ्घर्ष गरेका थिए। जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता संग्राममा भाग लिएका थिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ, भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भयो ।

प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्णशम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । दुवै दल एकीकृत भई बनेको नेपाली कांग्रेस अहिले पनि संसदमा प्रमुख प्रतिपक्षी दलका रुपमा क्रियाशील छ ।

नेपाली राजनीति पछि साहित्य क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका बीपीको क्यान्सर रोगका कारण वि.सं. २०३९ साउन ६ गते निधन भयो ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाब, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित छन् । त्यसैगरी दुई कथासङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।

विपी जयन्तीका अवसरमा कांग्रेस, भ्रातृ एवम् शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञा एवं बन्दाबन्दीका बीच भौतिक दूरी कायम गरी मास्क लगाएर वा जुम प्रविधिका माध्यमबाट कार्यक्रम गर्न आह्वान गरिएको छ ।