कोरोना भाइरसले गर्दा ईलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्ष खाली भएको छ ।
प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार बुधबार ४ थुनुवा रिहा भएसँगै थुनुवा कक्ष खाली भएको हो । उनका अनुसार जघन्य अपराध गरेका बाहेक सामान्य झैझगडाका घटनाहरु छलफल गरेर टुङ्ग्याउने गरिएको छ ।
विभिन्न जिल्लाका थुनुवा कक्षमा पनि कोरोना सङ्क्रमण पुष्टि भएकाले तुलसीपुर क्षेत्रमा त्यस्तो खालको समस्या नआओस् भनेर छिटो अनुसन्धान गरी थुनुवा कक्ष खाली गरिएको उनको भनाइ छ ।
लागुऔषधको ९० दिन र अन्य अपराधको २५ दिन थुनामा राखेर अनुसन्धान गर्ने भए पनि पछिल्लो समय लागुऔषधको ३०/४० दिन र अन्य अपराधको ८/१० दिनमै सबै प्रक्रिया पूरा गरेर सङ्क्रमित हुनसक्ने कुरालाई मध्यनजर गरी थुनामुक्त गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।
तुलसीपुर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएका कारण आपराधिक त्रियाकलापमा कमी आएको उनको भनाइ छ । इलाका प्रहरी कार्यालयमा ७० थुनुवा राख्नसक्ने क्षमता छ ।