२०७८ मङ्सिर २ गते बिहिवार
२०७८ मङ्सिर २ गते बिहिवार

रगैंजा बजारमा अस्थाई प्रहरी विट स्थापना

शान्तिनगर गाउँपालिका वडा नं. ५ मा पर्ने रगैंजा बजारमा अस्थाई प्रहरी विट स्थापना गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघ शान्तिनगर शाखा, जनप्रतिधि, बुद्धिजिवि तथा समाजसेवीको पहलमा रगैँजा बजारमा अस्थाई प्रहरी विट स्थापना गरिएको हो ।

पछिल्लो समय रगैँजा बजार तिव्र गतिमा बजारको रुपमा विस्तार हुँदै गएको र विभिन्न किसिमका होहल्ला, अशान्ति, चोरी,डकैटी जस्ता घटना बढ्न थालेपछि अस्थाई प्रहरी विटको स्थापना गरिएको हो । रगैँजामा अस्थाई प्रहरी विटको स्थापना भएपछि साविक धनौरी गाविसका सम्पूर्ण गाउँटोल सुरक्षाको दृष्टिकोण सुरक्षित हुने भएको छ । साविक धनौरी गाविस अहिलेसम्म सुरक्षाबाट पछाडि परेको थियो ।

पटक–पटक ईलाका प्रहरी कार्यालय खिलतपुरमा अस्थाई प्रहरी विटको माग गरेर रगैजामा प्रहरी विट स्थापना गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघ शान्तिनगर शाखाका अध्यक्ष ज्ञानेन्द्रराज शर्माले बताउनुभयो ।

साविक धनौरी गाविसका कुनै ठाउँमा पनि सुरक्षा निकाय नहुँदा उद्योगी, व्यवसायी तथा स्थानियहरु सुरक्षा दृष्टिकोणले विभिन्न समस्या झेल्दै आएकाले सवैको साथ र सहयोग कारण प्रहरी विट स्थापना भएको अध्यक्ष शर्माले बताउनुभयो ।

उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, बुद्धिजिविहरुले लिखितरुपमा ज्ञापन पत्र सहित अस्थाई प्रहरी विटको माग गरेको हुँदा तत्काल दैनिक २ जनाका प्रहरी जवान खटाएको ईलाका प्रहरी कायालय खितलपुरका प्रमुख तथा प्रहरी निरिक्षक मोहन विक्रम केसीले बताउनुभयो । रगैँजा बजारमा धेरै पटक विभिन्न घटना घटेको र माग जायज भएकाले अस्थाई प्रहरी विट स्थापना गरेको प्रहरी निरिक्षक केसीले बताउनुभयो ।

विटका लागि शान्तिनगर गाउँपालिका वडा नं. ५ ले सहयोग गरेको छ । करिब १ लाख २ हजारको लगानिमा विट निर्माण गरेको वडा अध्यक्ष गिरीराज बस्नेतले बताउनुभयो । सबैको माग अनुसार र प्रहरी विट स्थापना गर्ने अनिवार्य आवश्यक भएकाले वडाले बिटट सहयोग गरेको वडा अध्यक्ष बस्नेतले बताउनुभयो ।