२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

‘मुस्लो छाड्दै आएको बाढीले विवाहको ६ महिनामै लग्यो’

गत फागुन महिनामा जापानबाट घरमा विवाह गर्न भनि आएका थिए बागलुङको गल्कोट नगरपालिका ४ हटियाका २५ वर्षीय नविन भण्डारी । ५/६ बर्षसम्म जापानमा बसेका उनले पैसा पनि राम्रै कमाएका थिए । फागुनमा घर आएका उनले लामो समयदेखि प्रेमसम्वन्धमा रहेकी पर्वतको कुश्मा फलेवासकी एक युवतीसँग फागुनमै विवाह गरे ।

विवाह गरि दुई महिनाअघि मात्र फेरी जापान फर्किन काठमाडौँ गएका भण्डारी कागजपत्र नमिलेर बागलुङ नै फर्किए । नवीन भदौ १७ गतेसम्म उनी घरमै थिए । कोरोनाको कारण घरमै बसिरहेका भण्डारी १७ गते दिउँसोतिर साथीहरुसँग घुम्न भन्दै निस्किए । जापानबाटै घर आएका प्रकाश भण्डारी, किशान खड्का र उनका भाइसहित चार जना सोही दिन बुर्तिबाङ्गतर्फ लागे ।

उनीहरुको यात्रा वुर्तिबाङ्ग हुँदै रुकुमतर्फ थियो । रुकुम जाने क्रममा सडकमा पहिरो आएका करण फर्किएका उनीहरुको यात्रा बुर्तिबाङ्गबाट ढोरपाटन तय भयो । २ वटा बाइकमा चारजना अघि बढ्छन् । अँध्यारो हुन थालेपछि वोवाङ्गस्थित लाँकुरीवोटको एक किराना पसलमा उनीहरु बास माग्छन् । पसल सञ्चालक मदन विक भन्छन्, ‘झपक्कै साँझ पर्ने बेलामा उहाँहरु चार जना आउनुभयो । मेरो होटल थिएन । पसल थियो । त्यही पनि टाढाका मानिसहरुले बास मागेपछि मैले बास दिएँ ।’

पसल सञ्चालक विकका अनुसार नविन निकै मिजासिला र मिलानसार थिए । साही साँझ त्यहाँ उनीहरुले लोकल कुखराको भाले काट्न लगाएर ढिँडोसँग खाने तयारी गर्दै थिए । ‘त्यही बेलामा एक्कासी पसलभित्र पानी पस्यो । बाहिर हेरेको माथिका घरहरु बगिरहेको थियो,’ पसल सञ्चालक विकले भने, ‘मानिसहरु चिच्चाएको देख्यौं । उहाँ भाइले आफ्नो बाइक चढेर माथिका मानिसहरुलाई बचाउन गए ।’ ‘म पनि आफ्नो बाइक लिएर उहाँसँगै माथि गएँ,’ विक सम्झन्छन्, ‘फर्किने क्रममा उहाँको बाइक बाढीले बगाउन आँट्यो । मैले बाइक छाड्नुस भने उहाँले मान्नुभएन । बाढी सुनामी जस्तो मुस्लो छाड्दै आयो । अन्ततः मेरो आँखै अगाडि बाइक र उहाँलाई भुजिखोलाले लगो ।’

विक फर्केर घर आउँदा उहाँहरुले खान ठिक्क पारेका कुखराको मासु ढिँडो भएको स्थान बगरमा परिणत भइसकेको थियो ।
ढोरपाटन नगरपालिका– ९ को वोबाङ्ग गाउँमा भदौँ १७ गते राती आएको भीषण बाढीपहिरोमा बगेर बेपत्ता ४१ जनामध्येका एक थिए नविन भण्डारी । उनी पहिलदेखी नै बाइकको सौखिन थिउ । नवीनका पिता इन्द्र भण्डारी भन्छन्, ‘यसभन्दा अघि बुलेट बाइक चढ्थ्यो नवीन । फागुनमा जापनबाट घर आएपछि केटिएम मोडलको नयाँ बाइक किनेको थियो । त्यसदिन साढे १ बजेसम्म घरमै देखेको थिएँ । उनीहरु पछि कता लागे भन्ने नै मलाई थाहा भएन ।’

इन्द्रका दुई छोराहरुमध्ये नविन जेठा हुन् । उनका कान्छा छोरा अर्जुन भण्डारी अष्टे«लियामा छन् । श्रीमान बेपत्ता भएको सुनाउन नखोजे पनि श्रीमती सुरक्षा भण्डारीले शंका गर्दागर्दै सोही दिन थाहा पाइन् । श्रीमान बाढीमा बेपत्ता भएको खबर पाएलगत्तै सुरक्षा बेहोस भइन् । बेहोस भएयता हालसम्म उनलाई हटियाको एक मेडिकलको इमरजेन्सी वार्डमा राखिएको बाबु इन्द्र भण्डारी बताउँछन् ।

नवीनको शव बेपत्ता भएको ६ दिनपछि बुर्तिबाङ्ग प्रहरीले बढिगाड गाउँपालिकाको भिमगिठे सोरोफोरोको बडिगाड खोलामा फेला पारेको थियो । बुर्तिबाङ्गका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले नवीनको शव बुझेर गल्कोट ल्याई दाहसंस्कार गरिसकेका छन् । नवीनको दाहसंस्कार स्थलमा सन्नाटा छाएको थियो । बाबु इन्द्र भण्डारी छोरा गुमाउनुको पीडा सुनाउँदै भन्छन्, ‘बुहारी भित्र्याएको ६/७ महिना मात्रै भएको छ । उनको ५ महिनको गर्भ पनि रहेको छ ।’

सुरक्षाको उमेर भर्खर २२ बर्षको छ । उनी कक्षा १२ मा पढ्दैछिन् । कोरोनाको कारण कलेज जान परेको छैन । सुरक्षका दाजु पनि जापानमै रहेकोले उनीहरुबीच चिनजान भई मायाप्रेम झाङ्गिदै गएको र दुवैले विवाह गर्ने योजना बनाई नवीन फागुनमा घर आएका थिए । हालसम्म बेपत्ता ३८ जना मध्ये २२ जनाको शव फेला परेको र १६ जना अझै बेपत्ता भएको बुर्तिबाङ्ग प्रहरी प्रमुख भण्डारीले बताए । शनिबार बेपत्ता भएको १० दिन पुगेको छ ।

साभार -रातोपाटीबाट