२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

राष्ट्रियसभा सदस्यता बदरको मागसहित बामदेव गौतमविरुद्ध सर्वोच्चमा रिट

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यता बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उपाध्यक्ष गौतमको उक्त नियुक्तीले संवैधानिक प्रणालीमा गम्भीर क्षति पुग्ने बताएका छन् ।

त्यस्तै उनले गौतमलाई मन्त्रिमण्डलमा सहभागी नगराउन माग गरेका छन् । उनले यो रिटको अन्तिम टुंगो नलागेसम्म गौतमलाई राष्ट्रियसभा सदस्यको हैसियतले काम गर्न नदिन माग गरेका छन् । उनले उक्त मुद्दाको सुनुवाई असोज ७ गते हुने भएको छ । गौतमले असोज १ गते पद तथा गोपनियताको सपथग्रहण गरेका थिए ।

राष्ट्रपति विद्या भण्डारीले गौतमलाई संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम सरकारको सिफारिसमा माथिल्लो सदनको सदस्यमा मनोनीत गरेकी थिइन् ।

गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को नियमित बैठकमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाको एक पदमा गौतमको नाम नियुक्त गर्न सिफारिस गरेको थियो ।