२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

दाङका दशवटै पालिकामा विद्यालय सञ्चालनको तयारी

दंगिशरण ५ सलौरामा रहेको लक्ष्मीनारायण आधारभूत विद्यालयमा सुरु भएको पठनपाठन ।

दाङका दशवटै पालिकाहरु विद्यालय सञ्चालनको तयारीमा जुटेका छन् ।

केही पालिकाका विद्यालयमा पठनपान सञ्चालन भइसकेको छ, भने अन्य पालिका पनि विद्यालय सञ्चालनको तयारीमा जुटेका छन् । कसरी विद्यालय सञ्चालन गर्दा सहज हुन्छ भनि सवैको राय सल्लाह अनुसार अगाडि बढ्ने शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिं डाँगीले बताउनुभयो । ‘सवै विद्यालयका प्रधानाध्यापकसंग छलफल गर्नु छ, अध्यक्ष डाँगीले भन्नुभयो, ‘अहिले शिक्षा शाखाका कर्मचारी सहित अन्य कर्मचारीमा कोरोना देखिएकाले गाउँपालिका बन्द रहेको र बन्द खुलेपछि विद्यालय सञ्चालनको बारेमा छलफल गर्छौ’ ।

गत चैत्र महिना देखि बन्द रहेको शैक्षिक संस्थाहरु ६ महिना पछि सञ्चालनमा आउने आशा देखिएको छ ।

त्यसैगरी दंगिशरण गाउँपालिका वडा नं. ५ सलौरामा रहेको लक्ष्मीनारायण आधारभूत विद्यालयले पठन पाठन सुरु गरेको छ । कोरोनाको महामारीमा कारण बन्द रहेको विद्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सोमबारदेखि विद्यालय सञ्चालन गरेको बताइएको छ ।

कोरोना भाइरस अन्त्य हुने अवस्था नरहेको र विद्यार्थीको भविष्य बिग्रने भएकाले स्वास्थ्य सुरक्षाको मापदण्ड सवै अपनाएर पठनपाठन सुरु गरेको विद्यालयका प्रधानाध्यापक गोविन्द आचार्यले बताउनुभयो ।

एक दिन बालबिकास देखि कक्षा ५ सम्म र अर्को दिन ६ देखि कक्षा ८ सम्मको पठनपाठन सञ्चालन गर्ने प्रधानाध्यापक आचार्यले बताउनुभयो । विद्यालयको कक्षाकोठा भित्र सामाजिक दुरी कायम, अनिवार्य मास्क प्रयोग र सावुन पानीले हात हुने जस्ता स्वास्थ्य सतर्कता सहित पठन पाठन सुरु गरेको उहाँले बताउनु भयो ।