२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

लागुऔषध विक्री गरेको आरोपमा दुई भारतीय पक्राउ

लागुऔषध ब्राउन सुगर विक्रीवितरण गरेको आरोपमा पक्राउ परेका २ जना भारतीय नागरिकलाई प्रहरीले थुनामा राखी अनुसन्धान सुरु गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत सिद्धार्थनगर जिल्ला शोहरतगढ थाना शोहरतगढ ग्राम बस्ने २५ वर्षीय लल्लु भन्ने नियाज धुनिया र सोही ठाउँका २० वर्षीय अजमेरी धुनिया रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाको सीमावर्ती क्षेत्र यशोधरा गाउँपालिका ७ मर्यादपुर सीमा नाकामा ब्राउन सुगर विक्री वितरण गरेको सूचनाको आधारमा उनीहरुलाई आइतबार पक्राउ गरिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

उनीहरुको साथबाट ८ पोकामा २७ ग्राम ब्राउन सुगर जस्तो खैरो गिलो पदार्थ फेला परेको प्रहरी उपरीक्षक अधिकारीले बताए । पक्राउ परेका दुवैजनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।