२०७८ मङ्सिर २२ गते बुधवार
२०७८ मङ्सिर २२ गते बुधवार

डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ ।

शुक्रबार सचिव वेद भट्टराईले विज्ञप्ति निकालेर आयोगले चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएका छन् । डा। केसीसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै आपसी विमतिका विषय वार्ता र संवादको माध्यमबाट समाधान गर्न तथा आमरण अनसन जस्तो जीवन नै जोखिममा पर्नसक्ने जटिल विकल्प नरोज्न पनि आयोगले सम्बन्धित पक्षलाई आग्रह गर्दछ ।

चिकित्सा शिक्षा सुधारको लागि नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयनको माग गर्दै डा। गोविन्द केसी भदौ २९ गते जुम्लामा आमरण अनशन सुरु गरेका थिए । हाल उनी त्रिवि शिक्षण अस्पतालमा छन् ।

केसीको अवस्थाबारे कर्णाली प्रदेश शाखा कार्यालय जुम्ला र प्रदेश कार्यालय वागमतीले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको आयोगले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था स्थिर रहेको, शरीरको पोटासियम, म्याग्नेसियम र ग्लुकोजको मात्रा कम हुँदै गएको, पटक–पटकको अनसनका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकोले संक्रमणको उच्च जोखिम रहेको अनुगमनको क्रममा पाइएको आयोगले जनाएको छ ।

केसीको जीवन रक्षाको लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै नेपाल चिकित्सक संघलगायत विभिन्न संघ संस्थाहरुले आयोगमा ज्ञापन पत्र पेश गरेको पनि आयोगले जनाएको छ ।