२०७८ मङ्सिर ८ गते बुधवार
२०७८ मङ्सिर ८ गते बुधवार

प्रदेश पाँच सरकारले सीमा नाकामा कडाइ गर्ने

प्रदेश पाँच सरकारले कोरोना महामारीको जोखिम रोक्न नेपाल–भारत सीमा आवतजावतमा कडाइ गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री शंकर पोख्रेलको अध्यक्षतामा बसेको प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले छोटो समयका लागि हुने सीमानाकाको आवतजावतमा कडाई गर्ने निर्णय गरेको हो ।

बैठकले सीमा व्यवस्थापन प्रभावकारी बनाउने, नेपाल र भारत बीचका तोकिएका सीमानाकाबाट मात्र सुरक्षित र स्वास्थ्य मापदण्ड अनुसार आवागमनको व्यवस्था गर्ने, हेल्थडेस्क राख्ने, अभिलेख राख्ने र आवश्यक सचेतनाका लागि प्रचाररप्रसारको व्यवस्था गर्ने,

कोरोनाको उच्च सङ्क्रमणलाई मध्यनजर गर्दै चाडपर्वको समयमा नेपाल र भारत बीच हुने छोटो अवधिको आवत जावतलाई नियन्त्रण तथा निरुत्साहित गर्ने निर्णय गरिएको छ ।

यसैगरी कोभिड बिरामीको उपचारको लागि मौजुदा भौतिक र स्वास्थ्य पूर्वाधारको क्षमताले नभ्याउने सम्भावना रहेकोले तत्काल दाङको बेलझुण्डी आयुर्वेद अस्पतालमा रहेको कोरोना विशेष अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल (बुटवल धागो कारखाना) मा लक्षण देखिएका बिरामीहरुको उपचारको लागि अक्सिजन थेरापी सेवा बिस्तार गर्नको लागि सामाजिक विकास मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार लक्षण देखिएका शंकास्पद बिरामीको पिसिआर परिक्षणको व्यवस्था मिलाउन र जिल्ला – जिल्लामा पिसिआर परीक्षणको लागि आवश्यक सिफारिस र व्यवस्थापन गर्न सामाजिक विकास मन्त्रालयले मातहतका स्वास्थ्य संस्थाहरुको प्रभावकारी परिचालन गर्ने, प्रयोगशालाबाट लक्षण देखिएका बिरामीको रिपोर्ट छिटो आउने व्यवस्था मिलाउनको लागि मौजुदा प्रयोगशालालाई सुदृढ बनाउने निर्णय पनि गरिएको छ ।

यसैगरी स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गराउनको लागि सार्वजनिक र निजी संस्थाहरु, सार्वजनिक स्थल र सार्वजनिक यातायातलगायतको स्थानमा अनिवार्य मास्कको प्रयोग गर्न लगाउने, सम्बन्धित सेवाग्राही तथा सरोकारवालालाई सर्वसुलभ तवरले सर्जिकल मास्क उपलब्ध हुने व्यवस्था सम्बन्धित निकाय वा संस्थाले गर्ने, यसको अनुगमन सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गर्ने निर्णय बैठकले गरेको छ ।

यसैगरी सार्वजनिक यातायातमास्वास्थ्य मापदण्डलागु गर्ने, स्वास्थ्य मापदण्ड लागु भए नभएको बिषयमा शुरुवाती प्रस्थान बिन्दु, यात्रु चढाउने र ओराल्ने बिन्दुमा प्रभावकारी अनुगमनको व्यवस्था नेपाल प्रहरीले गर्ने, कोरोनाको जोखिम न्यूनिकरण र यसबाट बँच्नको लागि सूचना तथा सचेतनामुलक प्रचार प्रसारको कार्य सम्बन्धित स्थानीय तहहरुले गर्ने, प्रदेश स्तरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले गर्ने साथै गाँउ–गाँउ र टोल–टोलमा आवश्यक सचेतना र सूचना प्रवाहको लागि बिद्यालयका शिक्षकहरुलाई सामाजिक विकास मन्त्रालयले परिचालन गर्ने निर्णय भएको छ ।