२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

वर्षाले बिग्रेको मोटरबाटो गोल्टाकुरीका युवाले मर्मत गरे

वर्षाका कारण बिग्रेको मोटरबाटो स्थानिय युवाहरुले मर्मत गरेका छन् ।

कोरोना महामारीपछि आफ्नै गाँउघरमा रहेका गोल्टाकुरीका युवाहरुले उदाहरणीय कार्य गरेका हुन । वर्षाको कारण बिग्रिएको बखरीया गोल्टाकुरी सडक खण्डमा सहज यातायातको समस्या देखिएपछि स्थानिय युवाहरुको सकृयतामा उक्त सडकको बिभिन्न स्थानमा सडक मर्मत कार्य गरेका हुन् ।

आफ्नो गाँउमा रहेको मुल सडकमै सामान्य मर्मत नहुँदा सहज यात्रा गर्न पनि समस्या देखिएको भन्दै स्थानिय युवाहरुको छलफलपछि आफुहरुले सडक मर्मत कार्य गरेको स्थानिय युवा शंकर चौधरीले वताए । कोरोना महामारी पछि बैदेशिक रोजगारीबाट आफुहरु गाँउमा फर्केपछि गाँउमा रहेको मुख्य सडकमा सवारी साधन मात्र होइन पैदल यात्रा गर्न समेत स्थानिय नागरिकहरुलाई निकै समस्या रहेको र आफुहरुले स्वयंले सडक सहज नहुदा निकै समस्या भोगे पछि गाँउमा रहेका युवाहरुको सक्रियतामा आफुहरुले बिग्रेको सडकको बिभिन्न स्थानमा ग्राभेल गर्नुका साथै सडक मर्मत कार्य गरेको चौधरीले वताए ।

सडक बिग्रेको लामो समय हुँदा पनि सरोकारवाला निकायहरु मौन जस्तै रहेपछि आफुहरुले गाँउमा रहेका युवाहरुको साथमा सडक मर्मत कार्य गरी केही सहज बनाउन सकेकोमा निकै खुसी भएको स्थानिय युवा खेमराज बुढाथोकिले वताए ।
आगामी दिनहरुमा पनि आफ्नो समु्दायमा देखिएका बिभिन्न समस्या समाधान गर्न युवाहरु अघि बढे समाज परिवर्तनमा सहज हुने र विकास निर्माण कार्यमा सरोकारवाला निकायहरुलाई पनि दबाव पुग्ने उनले वताए ।

स्थानिय युवाहरुले बिग्रेको सडक मर्मत कार्य गरेपछि यातायातमा समेत सहज भएपछि आफुहरु निकै खुसी रहेको र आगामी दिनहरुमा स्थानिय युवाहरुसंग सहकार्य गरि विकास निर्माणका कामहरु गर्न समेत निकै सहज हुने आफुले अपेक्षा गरेको दंगिशरण गाँउपलिका वार्ड नं. २ का अध्यक्ष तुलसीराम देवकोटाले वताए । स्थानिय युवाहरुले विकासमा खवरदारी गर्नुका साथै आफै नेतृत्व लिन सके विकासमा फड्को मार्न निकै सहज हुने उनले प्रतिकृया समेत दिए ।

स्थानिय युवाहरु शंकर चौधरी, भिम बहादुर केसी, खेमराज बुढाथोकी, याम बहादुर केसी र नन्दराम केसी लगाएतका युवाहरुको अगुवाईमा करीव ५० हजार बरावरको श्रमदान तथा युवाहरु स्वंयले आफुहरुबाटै गिट्टी,ढुङ्गा ढुवानी बाफतको रकम संकलन गरि बिग्रिएको सडक मर्मत कार्य सम्पन्न गरेका हुन् ।