२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

आँखाका बिरामीमा पुरुष भन्दा महिला धेरै

दाङमा पुरुष भन्दा आँखाका बिरामीहरुको संख्या महिलाहरु धेरै भएको पाइएको छ । राप्ती आँखा अस्पताल रक्षाचौरले आइतवार गरेको पत्रकार सम्मेलनमा त्यस्तो जानकारी दिइएको हो ।

अस्पताल स्थापनादेखि हालसम्मको तथ्याङ्क हेर्दा आँखाको समस्या पुरुषमा भन्दा महिलाहरुमा बढी देखिएको छ । अस्पतालले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आँखाको समस्या भएका ५७ प्रतिशत महिला छन भने ४३ प्रतिशत पुरुष रहेका छन ।

४१ औँ सामाजिक सेवा दिवसका अवसरमा आइतवार अस्पतालले आयोजना गरेको आँखा स्वास्थ्य सेवा र कोभिड–१९ विषयक कार्यक्रममा त्यस्तो जानकारी दिइएको हो ।

अस्पतालका प्रमुख डाक्टर सुलक्ष्मी कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ प्रसाशकीय अधिकृत शम्शेर थापाले महिलामा आँखाको समस्या बढी देखिनुमा चुलोचौकाको काम नै मुख्य कारण रहेको तर्क गरे । डाक्टर कटवलाले पनि महिलामा बढी आँखाको समस्या देखिनुका पछाडि त्यस्तै तर्कहरु प्रस्तुत गरिन ।

‘घरदेखि बनजंगलसम्मको कामको जिम्मेवारी महिलाहरुमा बढी हुन्छ,’ उनले भनिन् ‘खाना पकाउदा धुलो धुँवाले बढी असर गर्छ र महिलाहरुले बढी केमिकल मिसिएको सामानहरु आँखामा प्रयोग गर्नुेलेपनि समस्या भइरहेको छ ।’

बरिष्ठ अधिकृत थापाले अस्पतालले स्थापनादेखि हालसम्म २८ लाख बढीलाई सेवा दिएको र त्यसमध्ये २ लाख बढीको निःशुल्क आँखाको अप्रेशन गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि नेपाल नेत्रज्योति संघका सचिब सुरेन्द्र खड्काले नेपाल नेत्र ज्योति संघ अन्तर्गत राप्ती आखाँ अस्पताल रक्षाचौर,लमही अस्पताल र बहादुरगञ्ज स्थित आँखा अस्पतालबाट पूर्नस्थापन, मोतियाबिन्दु, आखाँ सम्बन्धि जनशक्ति उत्पादन लगायतका काम भइरहेको जानकारी दिए ।

अस्पताललाई अध्ययन प्रतिष्ठानको रुपमा बिकास गर्ने र एकीकृत आँखा स्वास्थ्य सेवा सञ्चालन गर्ने अबको मुख्य योजना रहेको उनले बताए । त्यस्तै कोभिड–१९ ले आँखा स्वास्थ्य सेवालाई धेरै नै प्रभाव पारेको भएपनि त्यसमा समेत राज्यले विभेद गरेको बताए । कार्यक्रमलाई मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिब सुशील बस्नेतले गैर सरकारी संघसंस्थालाई सहि ढंगले बर्गिकरण हुन नसक्दा कामको मूल्यांकन गर्न राज्य चुकेको बताए । सबैलाई एउटै नजरले मूल्यांकन गर्ने शैलि सरकारले परिर्वतन गर्नुपर्ने उनको सुझाव छ ।

त्यस कार्यक्रममा नेत्रज्योति संघका सहसचिब चिरञ्जिबी रिजाल,नेपाल पत्रकार महासंघका सहसचिब सर्मीला डिसी,पत्रकार बसन्त आचार्य,अधिकारकर्मी निर्मल नेपाली लगाएतले सम्वोधन गरेका थिए ।अस्पतालका प्रशासक किरण पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गरेका हुन ।