२०७९ असोज १३ गते बिहिवार
२०७९ असोज १३ गते बिहिवार

अबको केही दिन लगातार ठूलो पानी वा झरी नपर्ने

अबको केही दिन लगातार ठूलो पानी वा झरी नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भारतको पूर्वी बिहार आसपास रहेको न्यूनचापीय प्रणाली कमजोर हुने क्रममा रहेकाले अबको केही दिन ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना छैन । साथै मनसुन बाहिरिने संकेत देखिन थालेको महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

मौसमविद् अर्यालका अनुसार मनसुन सकिने लक्षण देखिन थालेकाले अबको एक हप्ताभित्र मनसुन बाहिरिने अनुमान छ । पश्चिमबाट पूर्वतिर हावा सर्न थालेको उहाँले बताउनुभयो । यस्तै देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिएको मानिनेछ ।

लगातारको झरीपछि बिस्तारै पानी पर्ने क्रम कम हुँदै गएको छ । अबको केही दिनमा पानी नपरे मनसुन बाहिरिने संकेतको रुपमा मान्न सकिने पनि उहाँले बताउनुभयो । नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गर्छ ।

तर यसवर्ष २ दिन ढिला गरी मनसुन भित्रिएको थियो । यसैबीच आज प्रदेश नम्बर १, वाग्मती, गण्डकी र प्रदेश नम्बर ५ का थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बाँकी ठाउँहरुमा आंशिक बद्लीको मात्रै सम्भावना रहेको मौसमविद् अर्यालले बताउनुभयो ।