२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

हात्ती चराउन जाँदा बाघको आक्रमणमा परी एकको मृत्यु

बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका ६ का ५५ वर्षीय बबना चौधरी छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हात्ती चराउन जाँदा बाघले आक्रमण गरेको हो ।

हात्ती चराउँदै घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको जनाइएको छ । जरायो मारेर शिकार गरिरहेको अवस्थामा उनी घाँस काट्न त्यहाँ पुगेपछि बाघले आक्रमण गरेको रामले जानकारी दिए ।

बिहान १०ः२५ बजेको समयमा घटना भएको सूचना प्राप्त भएपछि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । मृतकको शव घटनास्थल नजिकै फेला परेको प्रहरीले जनाएको छ ।