२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

देउवाले भने – ‘असहयोग गर्ने कर्मचारीको लिष्ट बनाउनुस’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहमा कांग्रेसका जनप्रतिनिधिहरूलाई असहयोग गर्ने कर्मचारीहरूको नाम संकलन गरेर पार्टीलाई बुझाउन निर्देशन दिएका छन् ।

उनले कांग्रेसले जितेका स्थानीय तहमा कर्मचारीहरूले असहयोग गरिरहेको गुनासो आफूसम्म आइपुगेको पनि बताए । ‘कम्युनिष्टले जितेका तहमा व्यापक भ्रष्टाचार भएको, बद्मासी भएको सूचना मसम्म आइरहेको छ’ देउवाले भने, ‘कांग्रेसले जितेकोमा काम नै गर्न नदिने गरिएको छ । यस्तो पनि हुन्छ ?’ उनले चुनौतिका बावजुत पनि राम्रो काम गरेर देखाउन कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

‘तपाईहरुले असहयोग गर्ने कर्मचारीकोहरूको नामको लिष्ट दिनोस् हामी पार्लियामेण्टमा कुरा उठाउँछौ, आबश्यक परेमा आन्दोलनमा समेत जान्छौं’ नेपाली कांग्रेसको स्थानीय तह समन्वय बिभागले प्रदेश नं. ५ अन्तरगतका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको जुम बैठकलाई सम्बोधन गर्दै देउबाले भने, ‘सधै यही सरकार रहँदैन, हाम्रो सरकार आएपछि हामीले स्थानीय तहमा असहयोग गर्ने र भ्रष्टाचार, बद्मासी गर्ने सबैको छानविन गरी आबश्यक परे कारबाही गर्नेछौं ।’

जनताको करबाट तलव खाएर कर्मचारीहरूले पार्टीका लागि काम गरेको सूचना आफूलाई आइरहेको जानकारी दिदै उनले करको दूरुपयोग नगर्न चेतावनी समेत दिएका छन् । ‘कांग्रेसले जितेका तहमा राम्रो काम भयो भने त्यसको असर छेउछाउमा पनि पर्छ’ देउवाको भनाई थियो ।

त्यसैगरी देउवाले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई जनताका माझमै रहेर काम गर्न निर्देशन दिएका पनि छन् । उनले जनता नै देशको मालिक भएको भन्दै जनताको घर दैलोमा गएर सेवा गर्न त्यस्तो निर्देशन दिएका हुन् ।