२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

रुपन्देही र कपिलवस्तुमा दुई जना कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट रुपन्देही र कपिलवस्तुमा गरी दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुष र कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ की ५० वर्षीया महिलाको उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

रुपन्देहीका ५५ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बुधबार बिहान १० बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

थापाका अनुसार असोज ११ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनी लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए । सोही क्रममा उनको पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएसँगै उनलाई कोरोना अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । उनको मिर्गौला र रगतमा समेत खराबी देखा परेको अस्पतालले जनाएको छ ।

यसैगरी कपिलवस्तुकी ५० वर्षीया महिलाको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको कलेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङले जानकारी दिए । उनी निमोनिया र मुटुका दीर्घरोगी समेत थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज ५ गते भैरहवा मेडिकल कलेजमा भर्ना भएकी थिइन् । असोज ५ गते नै गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।