२०७८ मङ्सिर १० गते शुक्रवार
२०७८ मङ्सिर १० गते शुक्रवार

दाङ राजधानी बनाउने निर्णयविरूद्ध बुटवलमा प्रदर्शन सुरु

तस्वीर : सेतोपाटी ।

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रस्ताव पेश गरिएसँगै बुटवलमा विरोध प्रदर्शन सुरू भएको छ।

प्रदेश सभाको शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको शुक्रबारको निर्णयअनुसार प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश गरेका थिए।

मन्त्री केसीले प्रदेश सभामा दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर देउखुरीमा प्रदेशको राजधानी र नामकरण लुम्बिनी राख्ने प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको हो।

नेविसंघले प्रदेश सभा अगाडि टायर बालेर विरोध जनाएको छ। अहिले पनि नेविसंघका कार्यकर्ताले बुटवलमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शन हुन थालेपछि बुटवलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रदेश सरकारले राजधानीको विषय निर्णय गरेसँगै बिहानैदेखि बुटवलको सुरक्षा व्यवस्था कडा पारिएको हो। आन्दोलन हुनसक्ने अवस्था देखिए कर्फ्यू लगाएर भए पनि प्रदेश राजधानी घोषणा गर्ने तयारीमा सरकार रहेको स्रोतको दाबी छ।