२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

दाङ राजधानी बनाउने प्रस्तावमा नवलपरासीका सांसदको पनि समर्थन

शुक्रबार प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रदेश सभामा पेश गरे । जसमा प्रदेशको नाम ‘लुम्बिनी’ र स्थायी राजधानी दाङको भालुवाङ रहने उल्लेख छ । अस्थायी राजधानी रुपन्देहीको बुटवलमा छ ।

प्रदेश सभामा दुई तिहाइभन्दा बढी सांसद रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयको समेत सहमति रहेकाले मन्त्री केसीकै प्रस्तावलाई नेकपाले समर्थन गर्ने देखिन्छ । त्यसहिसाबले यसअघि चर्चामा रहेका स्वर्गद्वारी, बुद्धभूमि लगायतको सट्टा लुम्बिनी नाम रहने सम्भावना बढेको छ । नेकपा हाईकमाण्डको निर्देशन पालना हुँदा राजधानी पनि दाङ बन्ने देखिन्छ ।

बर्दिया, बाँके, दाङ, रुकुम पूर्व, रोल्पा क्षेत्रका नेताहरूले प्रदेश राजधानी बुटवल अपायक भएको बताउँदै आएका थिए । प्रदेश सरकारको प्रस्तावको दाङ क्षेत्रका नेताहरूले समर्थन र रुपन्देही आसपासका नेताहरूले विरोध गर्नु अस्वाभाविक होइन ।

अस्थायी राजधानी रहेको रुपन्देही जिल्लासँगै सिमाना जोडिएको नवलपरासी (पश्चिम) का सांसदले पनि भालुवाङ राजधानी बनाउने प्रस्तावको स्वागत गरेका छन् । जबकी नवलपरासीवासीका लागि दाङभन्दा बुटवल धेरै नजिक पर्छ ।नवलपरासी पश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद देवेन्द्रराज कंडेल भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्तावमा सकारात्मक छन् । तर, पार्टीले के निर्णय गर्छ भन्ने उनी पर्खिरहेका छन् ।

‘पार्टीको केन्द्रीय समितिको बैठक पनि बस्दैछ । पार्टीले निर्णय गर्ला, पार्टीको निर्णय मैले मान्नु पनि पर्छ,’ कंडेल भन्छन्, ‘तर, व्यक्तिगत रुपमा पहिलेदेखि नै आफ्नो ठाउँमा हुनुपर्छ भन्नु भन्दा भौगोलिक बनावटको आधारमा पायक पर्ने ठाउँमा राजधानी राख्नुपर्छ भन्दै आएको छु ।’