२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

कोरोना संक्रमणबाट बाँकेमा ६० बर्षीय पुरुषको मृत्यु

सांकेतिक तस्वीर ।

बाँकेको नेपालगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार दिउँसो उपचारकै क्रममा भेरी अस्पताल नेपालगन्जमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२, कोरियनपुरका ६० बर्षीय एक पुरुषको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२, कोरियनपुरका ६० बर्षिय एक पुरुषको शनिबार दिउँसो ४ बजेर ५६ मिनेटमा उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

मृतक व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि असोज १५ गते बिहान १० बजे उपचारका लागि भेरी अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा असोज १० गते स्वाब संकलन गरिएको सोहिदिन मृतक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएसङ्गै उनलाई भेरी अस्पतालको कोभिड १९ आइसोलेसन वार्डमा भर्ना गरी उपचार शुरु गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रबाट जारी गरिएको प्रेस नोटमा जनाइएको छ ।

उपचारको क्रममा एन्टिबायोटिक्स र रेमडेसिभर लगायतका बिधिबाट उपचार गर्दागर्दै शनिबार दिउँसो ४ बजेर ५६ मिनेटमा उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । मृतक व्यक्ति बिगत लामो समयदेखि मधुमेह, उच्च रक्तचाप तथा मुटु सम्बन्धि स्वास्थ्य समस्या रहेको उक्त नोटमा जनाइएको छ ।

यो सङ्गै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।