जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ ।
प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी सहित ४ जनामा कोरोना पुष्टि भएपछि जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा, मुद्दा, राहत, उद्दारसम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरिएको अर्का सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।
केही दिन अघि सन्धिखर्क नगरपालिकाको भुजुंगे र शीतगंगा नगरपालिकाको कोठिया मैदानमा पहिरो पीडितलाई राहत वितरण गरेर फर्केपछि प्रजिअ विष्णु पौडेल, सहायक प्रजिअ विक्रम थापा सहित सुरक्षा गार्ड र गाडी चालकलाई कोरोना पोजेटिभ देखिएको हो । संक्रमितहरु होम आइसोलेसनमा छन् ।
अतिआवश्यक नपरी सेवा लिन नजान, जानै परेमा दुई मिटरको दूरी कायम गरी, मास्क लगाएर, साबुनपानीले हात धोइ वा स्यानिटाइजार प्रयोग गरी आफू सुरक्षित हुने गरी अतिआवश्यक सेवा लिन सहायक प्रजिअ खनालले आग्रह गरे।