२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

लागुऔषध कारोबार गरेको आरोपमा ५ जना पक्राउ

रोल्पामा लागुऔषध कारोबार गर्ने पाँच जना पक्राउ परेका छन् । जिल्लाको सुनिलस्मृति गाउँपालिका २ खुङ्ग्रीबाट प्रहरीले ८ किलो ३०० ग्राम अफिमसहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

शनिबार बेलुका रोल्पाको सुलिचौरबाट दाङ जाँदै गरेको बा १५ च ३७७६ नम्बरको गाडीलाई खुङ्ग्री चेकपोष्टमा जाँच गर्दा गाडीमा रहेका तीन जना महिला र चालकसहित दुई जना पुरुष पक्राउ परेका हुन ।

पक्राउ पर्नेहरुमा रुकुमपूर्व भूमे गाउँपालिका ४ की ३७ वर्षीया ज्योती घर्ती, त्यही ठाउँकी ३० वर्षीया निसा पुन, दाङ हापुर गाउँपालिका ६ रवानाका ४५ वर्षीया दिलप्रभा बुढा, सुर्खेत गुर्भाकोट नगरपालिका ९ चिसापानीका ३३ वर्षका मोतीलाल परियार र गाडी चालक रोल्पा सुनछहारी गाउँपालिका १ सेरम घर भएर अहिले दाङ घोराई उपमहानरपालिका ४ राप्तीटोल बस्ने ३५ वर्षका यामबहादुर घर्तीमगर रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय सुलिचौरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।