२०७८ मङ्सिर १९ गते आइतवार
२०७८ मङ्सिर १९ गते आइतवार

प्रदेश राजधानी प्रस्ताव विवादमा सर्वदलीय सहमति जुटेन

तस्वीर : सेतोपाटी ।

केही बेरअघि सुरु भएको प्रदेशसभाको सर्वदलीय बैठक १० मिनेटमै बिनानिष्कर्ष सकिएको छ । बैठक बस्नासाथ नेपाली कांग्रेसले केही दिन प्रदेशसभा स्थगित गरेर राजधानीबारे छलफल गर्ने र सहमति जुटाउने प्रस्ताव गरेको थियो । नेकपाले प्रदेशसभा स्थगित गर्न नमानेपछि कांग्रेस सदस्य बैठकबाट बाहिरिएका छन् ।

बिहान ८ बजे बोलाएको बैठक सवा दश बजे सुरु भए पनि १० मिनेटमै सकिएको नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले बताइन् । नेकपा आफ्नै राजधानी सार्ने विषयमा आफ्नै अडानमा रहेको र बैठक स्थगित गर्न पनि नमानेकाले कांग्रेस बैठकबाट बाहिरिएको उनले बताइन् । ‘ राजनीतिक सहमति र नागरिकको मन नजिती राजधानी नसारौं । केही दिन प्रदेश सभा स्थगित गरौं। अनि सहमति गरेर विवाद टुंग्याउँला भनेका थियौं,’ सचेतक क्षेत्रीले भनिन् ,‘ नेकपाले नमानेपछि हामी बैठकमा बस्नुको औचित्य रहेन, निस्कियौं ।’

त्यस्तै जनता समाजवादी पार्टी नेपालले पनि केही दिन प्रदेशसभा स्थगित गर्न आग्रह गरेको छ । संसदीय दलका प्रमुख सहसराम यादवले जनता सडकमा उत्रिएका बेला एकलौटी ढंगबाट राजधानी तोक्न नहुने बताए । ‘सडकमा जनताको उत्रेका बेला राजधानी तोक्नु हुँदैन केही समय रोकेर पछि छलफल र सहमतिमा राजधानी टुंगाउनुपर्छ भनेर सुझाव दिएका छौं,’ उनले भने ।

नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालले भने पहिलो बैठक बिनानिष्कर्ष टुंगिए पनि पुनस् बैठक बस्ने तयारी गरेको बताए । सहमतिको प्रयास जारी रहेकाले प्रदेशसभा बैठक स्थगित नहुने उनले बताए । ‘हामीले सहमतिको प्रयास गरिरहेका छौं,’ उनले भने, ‘तर सदन रोकिने छैन ।’

सभामुख पूर्णबहादुर घर्तीले पनि सदन निर्धारित समयमै सुरु हुने बताए ।