२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

कांग्रेसका आधा दर्जन बढी केन्द्रीय सदस्यहरु भालुवाङको पक्षमा

नेपाली कांग्रेसका आधा दर्जन केन्द्रीय सदस्यहरुले भालुवाङ प्रदेश ५ को केन्द्र तोक्ने निर्णय अत्यन्त उपयुक्त रहेको भन्दै स्वागत गरेका छन् । प्रदेश ५ बाट केन्द्रीय समितिमा रहेका अधिकांश सदस्यहरुले भालुवाङको पक्षमा देखिएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य दिपक गिरी, किशोरसिंह राठौर, पार्वता डिसी चौधरी, शिला खड्का, डा। गोपाल दहित, मंगल प्रसाद थारु, योगेन्द्र चौधरी र कृष्ण किशोर घिमिरेले प्रदेश केन्द्र भालुवाङ तोक्ने निर्णय अत्यन्त उपयुक्त भएको बताएका छन् ।

प्रतिनिधिसभा सांसद समेत रहेका नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जय गौतम र पूर्वराज्यमन्त्री रहिसकेका रोल्पा पूर्वका सभापति अमरसिह पुनले पनि भालुवाङको नाममा आफूहरुको पूर्ण समर्थन रहेको बताएका छन् ।

‘नेपाली कांग्रेसले पहिलेदेखि नै प्रदेश नम्बर पाँचको नाम र स्थायी राजधानी तोक्न पटक(पटक ध्यानाकर्षण गराउँदै आएको सर्वविदितै छ । हामीले सुरुदेखि नै प्रदेशको केन्द्र भालुवाङ हुनु पर्दछ भनेको स्मरण गराउँदै आएकोमा सोही स्थानलाई नै प्रदेश केन्द्र प्रस्ताव गरेकोमा प्रदेश नम्बर पाँच प्रदेश सरकारप्रति आभार व्यक्त गर्दछौं,’ उनीहरुले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

प्रदेशको नाम र केन्द्र निर्णय गरी निणयार्थ प्रदेशसभामा पेश गरे लगत्तै यसको पक्ष र विपक्षमा बहसहरु चलिरहेकोप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको पनि उनीहरुले बताएका छन् ।

सरकारी विज्ञ टोलीको सिफारिस, समन्यायिक विकास, प्राकृतिक श्रोतको न्यायिक वितरण, जनमतको कदर र संघीयताको मर्म र भावना अनुसार सबैलाई सुविधाजनक रहेको र सामरिक दृष्टिकोणले समेत अत्यन्त उपयुक्त रहेको भन्दै देउखुरीको भालुवाङलाई प्रदेशको राजधानी बनाउने प्रस्तावमा उनीहरुले पूर्ण समर्थन रहेको जनाएका छन् ।

यस विषयलाई कुनै पनि राजनीतिक दल तथा नेताहरुले व्यक्तिगत प्रतिष्ठाको विषय नबनाइ जनतालाई उत्तेजित बनाउने कार्य कहींकतैबाट नगराउन पनि उनीहरुले आग्रह गरेका छन् ।