२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

प्रदेशसभामा तोडफोड गर्ने सांसदलाई कांग्रेसले कारवाही गर्ने

प्रदेश नम्बर ५ को प्रदेशसभामा सोमबार तोडफोडमा उत्रिएका तीनजना प्रदेशसभा सांसदलाई नेपाली कांग्रेसले अनुशासनको कारवाही गर्ने भएको छ ।

संसदमा तोडफोड गर्नु नेपाली कांग्रेसको सिद्धान्त र मान्यताविपरीत कार्य भएको भन्दै कांग्रेसको अनुशासन विभागले प्रदेशसभा सदस्य बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवारलाई कारवाही गर्ने भएको हो ।

कांग्रेस स्रोतका अनुसार सोमबार दिउँसो बुटवलमा कांग्रेस सांसदले प्रदेशसभाभित्र तोडफोड गरेको सुन्नासाथ काठमाडौंमा पार्टी सभापति शेरबहादुर देउवा आक्रोशित बनेका थिए ।

सोमबार बुटवलमा प्रदेशसभाको बैठक भइरहँदा कांग्रेस सांसद बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवार तोडफोडमा उत्रिएका थिए । अन्य केही सांसदले पनि उनीहरुलाई साथ दिएका थिए । रोष्टम अगाडि उभिएर शान्तिपूर्वक नाराबाजी गर्नु स्वाभाविकै भए पनि सरकारी सम्पतिमाथि भौतिक क्षति पुर्‍‍याइनु कांग्रेसको नीति विपरीत भएको एक नेताले बताए ।