२०८१ मङ्सिर २१ गते शुक्रवार
२०८१ मङ्सिर २१ गते शुक्रवार

प्रदेश ५ को नाम र राजधानी प्रस्तावमा आज मतदान

प्रदेश पाँच सरकारले प्रदेशसभामा पेश गरेको प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्तावमा आज मंगलबार मतदान हुने भएको छ।
 संविधानको धारा २८८ को उपधारा २ बमोजिम प्रदेशसभाको दुई तिहाइबाट प्रदेशको नाम र राजधानी तोक्ने प्रावधानअनुसार मतदान हुँदैछ। जसका लागि आज १२ बजे प्रदेशसभाको बैठक बोलाइएको छ।
प्रदेशसभामा सोमबार प्रस्तावमाथिको छलफल सकिएपछि आज मतदान हुन थालेको हो। छलफल सकिएको १८ घण्टासम्म संशोधन प्रस्ताव दर्ता गर्ने समय दिइएको छ। यद्यपि कार्यविधिअनुसार मूल प्रस्तावमा नै पहिले मतदान हुनेछ।
प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका ९देउखुरी० राख्ने प्रदेश सरकारले पेश गरेको मूल प्रस्ताव दुई तिहाइले पारित भएको खण्डमा संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछैन। मूल प्रस्तावमा दुई तिहाइ नपुगेको खण्डमा मात्रै संशोधन प्रस्तावमा मतदान हुनेछ।
सोमबारसम्मको स्थिति हेर्दा सरकारले पेश गरेको प्रस्ताव सहजै पारित हुने देखिएको छ। प्रस्तावको पक्षमा मतदान गर्न सत्तारुढ नेकपाले सबै सांसदहरुलाई ह्वीप जारी गरेको छ। मुख्यमन्त्री एवं संसदीय दलका नेता शंकर पोख्रेलले सोमबार बसेको संसदीय दलको बैठकमा निर्देशन उल्लंघन गरे पदमुक्त गर्ने गरी पक्षमा मतदान गर्न निर्देशन दिनुभएको छ। प्रदेशसभामा नेकपामा ६१ सांसद छन् भने सभामुखले एक मत नपुगेको अवस्थामा बाहेक मतदान गर्न पाउनुहुनेछैन।
त्यस्तै पश्चिम क्षेत्रका कांग्रेसका छ जना र जसपाका चार गरी थप दशजनाले मतदान गरे पक्षमा ७० मत खस्ने अनुमान गरिएको छ। हाल कायम रहेको दुई तिहाइ सदस्यले पक्षमा मतदान गरे प्रस्ताव पारित हुने भएकाले हाल कायम रहेको ८७ सांसदमध्ये ५८ जनाले पक्षमा मत दिनुपर्नेछ। प्रदेशसभामा नेकपाका ६१, कांग्रेसका १९, जसपाका छ र राष्ट्रिय जनमोर्चाका एकजना सांसद छन्।
सोमबार भएको छलफलमा सांसदहरुले मिश्रित धारणा राखेका थिए। उनीहरुले भेगीयरुपमा आ–आफ्ना मत राखेका थिए। बैठक शुरु हुनेबित्तिकै कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बोलेपछि रुपन्देही आसपासका कांग्रेस सांसदहरु नाराबाजीमा उत्रिएका थिए। उनीहरुले लगातार नाराबाजी गरेपछि पहिलो बैठक स्थगित गरिएको थियो। दोस्रो बैठकमा पनि उनीहरुले नाराबाजी गरेका थिए।
नाराबाजीकै बीच सभामुख पूर्ण घर्तीले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई प्रस्ताव प्रस्तुत गर्न अनुमति दिनुभएको थियो। सो क्रममा असन्तुष्ट सांसदहरुले मन्त्री केसीलाई रोक्न हातपातसमेत गरेका थिए। उहाँले घेरा पार गर्दै रोष्ट्रममा पुगेर छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि केही कांग्रेस सांसदहरुले बैठकस्थलका कुर्सी टेबुल तोडफोड गरेका थिए। कांग्रेसका सांसदहरू रूपन्देहीका अष्टभुजा पाठक तथा नवलपरासीका बसिउद्दिन खाँ र वैजनाथ कलवारले कुर्सी उचालेर तोडफोड गरेका थिए। तोडफोडमा उत्रिएका तीनै सांसद प्रत्यक्ष निर्वाचित हुन्। सांसद कलवार यातायात व्यवसायी पनि हुन्।
प्रदेश सरकारले देउखुरीमा राजधानी प्रस्ताव गरेपछि बिरोधमा उत्रिएका बुटवलवासीले सोमवार पनि प्रदर्शन जारी राखेका छन्। सरकारको प्रस्तावप्रति असन्तुष्ट नेकपाकै सांसद भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिको सभापतिबाट राजीनामा दिनुभएको छ। प्रदेशसभाको बैठकमा नाम तथा राजधानीका लागि गठन गरिएको संसदीय विशेष समिति र विज्ञ समूहको प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो।