२०७९ असोज १३ गते बिहिवार
२०७९ असोज १३ गते बिहिवार

दाङकी ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु

सांकेतिक तस्वीर ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ निवासी ७५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। गत बिहीबार भैरहवा मेडिकल कलेजमा उपचारका लागि पुगेकी ती महिलालाई उपचारको क्रममा कोरोना संक्रमण भएको थियो।

अस्पतालबाट डिस्चार्ज गर्नु अघि गरिएको कोरोना परीक्षणमा पोजेटिभ देखिएको थियो । त्यसपछि कोरोना अस्पतालमा उपचारको लागि बेड पाइँएन ।

राप्ती गाउँपालिकामा सञ्चालन भएको आइसोलेशनमा उपचारको लागि भर्ना गरियो । तर, यहाँ संक्रमितको उपचार सम्भव नभएपछि थप उपचारको लागि बुटवल रेफर गरिएको थियो । ‘अस्पतालमा बेड मिलाउँदा मिलाउँदै आमाले अस्पतालको गेटमा प्राण त्याग्नुभयो’ छोरीले भनिन्,‘उपचारको लागि अस्पतालमा भर्ना नै गर्न पाइँएन । अस्पताल चाहार्दा चाहर्दै आमालाई गुमाउनु पर्‍यो ।’

खुट्टामा दागहरु देखिएपछि उपचारको लागि भैरहवा लगिएको थियो । सल्यक्रिया सफल भएपनि कोरोना संक्रमण भएका कारण अन्य उपचारहरु पाउन नसक्दा आमाको मृत्यु भएको छोरीले बताइन्। ‘सुगर, प्रेसर, मुटुको रोग समेत थियो । कोरोना संक्रमण भएपछि ती रोगको भने जस्तो उपचार भएन’छोरीले भनिन् ,‘एम्बुलेन्समा राखेर यता उता मात्रै लैजाने, ल्याउने मात्रै काम भयो । समयमा उपचार पाउन सक्नु भएन ।’

मंगलबार दिउँसो ४ बजे तिर महिलाको मृत्यु भएको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक नारायण रावतले पुष्टि गरेको खबर देशसञ्चारमा प्रकाशित छ ।