२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

‘दुव्र्यसन नियन्त्रण गर्न सबै एकजुट हुन आवश्यक’

मदिरा तथा लागू औषध दुव्र्यसन नियन्त्रण गर्न सबै एकजुट हुन आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । बबई गाउँपालिकाको हापुरेमा भएको मदिरा सेवन तथा लागू औषध दुव्र्यसन सम्वन्धी एक दिने सचेतनामूलक कार्यक्रमका सहभामगीहरुले यस्तो बताएका हुन ।

पछिल्लो समयमा मदिरा सेवन तथा लागू औषध प्रयोग गर्नेको संख्या बढ्दै गएको भन्दै यसलाई नियन्त्रण गर्न आ–आफ्नो ठाउँबाट पहल चाल्नु पर्ने बताएका थिए ।

जनप्रतिनिधि तथा व्यवसायीहरु सहभागी रहेको सो सचेतनामूलक कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख मोहन विक्रम केसीले प्रहरीले मात्र दुव्र्यसन नियन्त्रण गर्न नसक्ने भएकाले सबैको सहयोगबाट यसलाई नियन्त्रण सकिने बताए । पश्चिदाङका विभिन्न स्थानमा युवा तथा बालकहरुले समेत मदिरा तथा लागू औषध प्रयोग गर्ने पाइएकाले परिवारले पनि आफ्ना सन्तानको विशेष ख्याल गर्नुपर्ने धारणा राखे ।

यस्तै ईलाका प्रहरी कार्यालय हापुरेका इञ्चार्ज कृष्ण खड्काले पनि मदिरा तथा लागू औषध नियन्त्रण गर्न सबैले सहयोग गर्नु पर्ने बताए । हापुरे बजारबाट लागू औषध प्रयोग गरिरहेको अवस्थामा यूवाहरुलाई पटक पटक पक्रेको समेत बताए । लागू औषध नियन्त्रण गर्न परिवारको ठुलो भुमिका हुने इञ्चार्ज खड्काले धारणा राखे ।

 

कार्यक्रममा बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले दुव्र्यसनी नियन्त्रण गर्न सबै सचेत बर्गले ध्यान दिनु पर्ने आवश्यक रहेको बताए । कार्यक्रमका प्रमुख अथिति समेत रहेका अध्यक्ष पौडेलले जनजप्रतिनिधिहरुले यसको नियन्त्रणको काम गर्दै आएको र आगामी दिनमा पनि विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम गरेर यसको नियन्त्रण गर्न लागि पर्ने बताए ।

कार्यक्रममा बबई गाउँपालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्मा, नेकपाका नेता भिम वहादुर वली, वडा नं. ५ का वडा अध्यक्ष डम्वर श्रीष लगायतले बोलेका थिए ।  कार्यक्रम सहजिकरण ईलाका प्रहरी कार्यालय हापुरेका इञ्चार्ज कृष्ण खड्काले गरेका थिए ।

यता शान्तिनगरको चिराघाटमा पनि मदिरा सेवन तथा लागू औषध दुव्र्यसन सम्वन्धी एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।