२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

प्रदेश राजधानीमा गैरकानुनी जग्गा किनबेच रोक्न मुख्यमन्त्रीको निर्देशन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुनसक्ने गैरकानुनी किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिनुभएको छ ।

प्रदेशको राजधानी र नामाकरण पछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीलाई निर्देशन दिदै उहाँले अब गुरुयोजनाको टुंगो नलाग्दासम्म नयाँ घर पनि बन्न रोक्नुपर्ने बताउनुभयो । सरकारले यस अघि दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा जग्गाको किनबेच र कित्ताकाटमा रोक लगाइसकेको छ । कानुनी रुपमा जग्गाको किनबेच रोक लगाइसकेको भएपनि गैरकानुनी रुपमा किनबेच हुनसक्ने भएकाले रोक्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउन निर्देशन दिनुभयो ।

राप्ती उपत्यकाको राप्ती गाउँपालिका, गढवा र शितगंगाको मैदानी भागमा गुरुयोजना बनाएर प्रदेशको सुन्दर राजधानी बनाउने गरी अघि बढेको बताउनुभयो । राप्ती उपत्यका भन्नाले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ को राप्ती किनारको मैदानी भाग भएकाले कोही भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो । राजपत्रमा राप्ती उपत्यका भन्ने प्रष्ट रहेको उहाँले बताउनुभयो ।

गुरुयोजना बनेपछि पहिलो प्राथमिकता प्रशासनिक संरचनाको उपस्थिति रहने र अरु क्रमशः बनाइदै जाने बताउनुभयो । उहाँले नक्शाको डिजाइन, गुरुयोजना र ल्याण्डपुलिङ जस्ता काम क्रमशः अघि बढ्ने बताउनुभयो । अहिलेलाई हेरेर होइन्, ५० वर्षपछि सम्म पनि व्यवस्थित शहर रहने गरी प्लानिङ गर्छौ, योजनाका माध्यमबाट मान्छेको सोंच बदल्छौं—उहाँले भन्नुभयो ।

राजधानी र नामको टुंगो सही ढंगले लगाएर संघीयताको वास्वविक कार्यान्वयन गर्न प्रदेश ५ सफल भएको र त्यसको लागि मुख्यमन्त्रीले सबैलाई धन्यवाद दिनुभयो ।