२०७८ कार्तिक ३० गते मङ्गलवार
२०७८ कार्तिक ३० गते मङ्गलवार

चुनढुङ्गा बोक्ने टिप्पर ३ महिनासम्म सञ्चालनमा रोक

फाइल तस्वीर ।

दाङको बंगलाचुली गाउँपालिकाले सिमेन्ट उद्योगका लागि चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरुलाई ३ महिना रोक लगाएको छ ।

बंगलाचुली गाउँकार्यपालिकको बैठकले घोराही–किमिरेचौर सडक खण्ड कालोपत्रे नहुँदासम्म र तापाचोक –तापाखानी क्षेत्र पुग्ने सडक खण्डलाई तत्काल कालोपत्रे प्रक्रिया अघि नबढाउँदासम्म चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरुलाई सञ्चालनमा रोक लगाउने निर्णय भएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिएका छन् ।

‘घोराही–कमिरेचौर सडक खण्ड कालोपत्रे नहुँदा उक्त बाटो भएर हिड्ने जनताले पानी पर्दा हिलो र पानी नपर्दा धेरै धुलो खानु परेको छ’–गाउँपालिका अध्यक्ष वलीले भने–‘जनताले पाउँदै आएको दुःख समाधानका लागि पटक पटक आग्रह गरेका थियो तर पहल नभएपछि टिप्पर रोक्ने निर्णय गरेका हौ ।’

गाउँपालिका क्षेत्रभित्ररहेको घोराही सिमेन्ट र सम्राट सिमेन्ट उद्योगको चुनढुङ्गा ढुवानी गर्ने सयौँ टिप्परका कारण मदन भण्डारी लोकमार्गको अवस्था विग्रिदा वर्षामा हिलो, हिउँदमा धुलो हुदा गाउँपालिकाका नागरिकहरुले सास्ती खेप्नु परेको हुँदा अव उक्त सडक कालोपत्रे नहुँदासम्म टिप्परहरु रोक्ने निर्णय गरेको अध्यक्ष वलीले बताए ।

उक्त सडक खण्डमा घोराहीमा रहेको घोराही सिमेन्ट उद्योग र देउखुरीमा रहेको सम्राट सिमेन्ट उद्योगका लागि चुनढुङगा बोक्ने सवारीसाधनहरु चल्ने गर्दछन ।