२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

लुम्बिनीमा पहिलोपटक २०० सीसीटिभी क्यामेरा जडान

बुद्ध जन्मस्थल लुम्बिनीको सुरक्षालाई मध्यनजर गरी पहिलोपटक दुई सय वटा सीसीटिभी क्यामेरा जडान गरिएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत अन्तर्राष्ट्रिय पर्यटकीय स्थलमा २५ वटा प्यान टिल्ड जुम (पीटीजेड) क्यामेरा र १७५ वटा सीसीटिभि क्यामेरा जडान गरिएको हो ।

लुम्बिनी गुरुयोजना अनुसारको प्रोक्योरमेन्ट अफ ट्रान्समिसन ब्याकबोण्ड एण्ड आईटी इन्फ्रास्ट्रक्चर परियोजना अन्तर्गत सीसीटिभी जडान भएको हो ।

सीसीटिभी क्यमेरा जडान भएसँगै लुम्बिनीभित्रका पवित्र उद्यान, बिहार क्षेत्र, शान्तिदीप, बसपार्क, सूचना केन्द्र, संग्रहालय, प्रशासनिक भवन र लुम्बिनी ग्रामलगायत २७५ वटा एक्सेस प्वाइन्ट ९मुख्य पहुँच स्थल० का दृश्य फाइबर र वायरलेस माध्यमबाट चौबिसै घन्टा क्यामेरामा कैद हुनेछन् ।

जडान भएका सबै सीसीटिभी क्यामेरामा कैद हुने दृश्य विकास कोषको कार्यालयमा राखिएको आईटी कन्ट्रोल रुममा राखिएका १२ वटा टिभी स्क्रिनबाट नियाल्न सकिनेछ ।

सीसीटिभी जडानपछि लुम्बिनी गुरुयोजना क्षेत्रमा हुने सबै प्रकारका गतिविधि रेकर्ड हुने भएकाले सुरक्षा प्रणाली सुदृढ हुने कोषका कायम मुकायम सदस्य सचिव ज्ञानिन राईले बताए । सीसीटिभी क्यामेरा सञ्चालन र व्यवस्थापनका लागि कोषका इन्जिनियर, कोषका सुरक्षाकर्मीहरु र नेपाल प्रहरीका गरी पाँचजना कर्मचारी व्यवस्थापन गरिएको राईले बताए ।

सीसीटिभी जडानपछि अब सुरक्षा व्यवस्थामा समस्या नआउने कोषका सूचना प्रविधि इन्जिनियर दिवाकर गौतमले बताए ।