शान्तिनगर गाउँपालिकाबासीलाई सरल र सहज तरिकाले स्वास्थ्य सेवा दिने लक्ष्य आफूले लिएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताएका छन् । शान्तिनगर गाउँपालिका वडा नं. ३ स्थित बस्तीखोलाको आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्दै यस्तो बताएका हुन ।
वडा नं. ३ का वडाअध्यक्ष बुद्धिराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष डाँगीले आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित हुन नपरोस भन्ने उद्येश्यले विभिन्न वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएकोे बताए । कार्यक्रममा प्रमुख अथिति समेत रहेका अध्यक्ष डाँगीले कोरोना भाईरस लगायत विभिन्न स्वास्थ्य समस्याबाट शान्तिनगरबासीलाई बचाउन गाउँपालिकाले विभिन्न सचेतनामुलक कार्यक्रम समेत गर्दै आएको बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मिथिला शाह, निमित्त प्रमुख प्रशासकिय अधिकृत घनश्याम वली, विपि बयाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शशिधर केसी, क्याम्पसका अध्यक्ष निम वहादुर केसी लगायतकाले बोलेका थिए । शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रशासन प्रमुख कृष्ण कडेलले गरेका थिए । कोरोना भाईरस महामारीलाई मध्यनजर गर्दै समाजिक दुरी कायम गरी बस्तीखोला आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको थियो ।
शान्तिनगरका गाउँपालिका वडा नं. १, वडा नं. ३, वडा नंं ५, र वडा नं. ७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको स्वास्थ्य शाखा प्रमुख हरी पुनले जानकारी दिए । गत आर्थिक बर्षमा सम्पन्न गरिसक्ने लक्ष्य भएपनि कोरोना महामारीका कारण केही ढिलो भएको प्रमुख पुनले बताए । वडा नं. ३ को आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको र अन्य वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रको पनि चाडै उद्घाटन गरिने उनले बताए ।