२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

रुकुम पूर्वलाई अर्गानिक जिल्ला घोषणा

फाइल तस्वीर ।

लुम्बिनी प्रदेशको एक मात्रै हिमाली जिल्ला रुकुम पूर्वलाई अर्गानिक जिल्ला घोषणा गरिएको छ ।

लुम्बिनी प्रदेशले प्रदेशका १२ जिल्ला मध्ये रुकुम पूर्वलाई अर्गानिक घोषणा गरेको हो । प्रदेश सरकारको प्रतिनिधिको रुपमा रहेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको पहलमा अर्गानिक जिल्ला घोषणा गरिएको हो ।

प्रदेशकी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला अब अर्गानिक जिल्लामा दर्ज भएको बताइन् । अर्गानिक जिल्ला घोषणाका लागि मन्त्री पौडेल जिल्ला पुगेकी थिइन् ।

अरु जिल्लाको भन्दा धेरै क्षेत्र र बस्तीहरु अर्गानिक नै रहेकाले यसैलाई अर्गानिक जिल्ला घोषणा गरिएको प्रदेश सरकारले जनाएको छ । चालू आर्थिक वर्षमा प्रदेश सरकारको नीति तथा कार्यक्रममा रुकुम पूर्वलाई अर्गानिक कृषि उत्पादन जिल्ला बनाउने उल्लेख गरेको थियो ।

अर्गानिक जिल्ला कार्यान्वयनका लागि प्रदेश सरकारले ५ करोड बजेट विनियोजन गरेको छ । विभिन्‍न शीर्षकमा विनियोजित उक्त बजेटबाट जिल्लालाई पूर्ण अर्गानिक गराउन विभिन्न कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ ।

जिल्लाका तीन वटै सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा भेडा बाख्रा मिसन कार्यक्रम, मासु उत्पादनका लागि बाख्रा पालन कार्यक्रम, प्रांगारिक मलमा अनुदान, तरकारी प्रवर्द्धन कार्यक्रम, माटो सुधार कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रम, सुन्तला, स्याउ, ओखर, आलु, लसुन, टिम्मुर, मह उत्पादन कार्यक्रम सञ्चालन गरिने खबर कान्तिपुरमा प्रकाशित छ ।