२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

घोराहीमा दुग्ध विकास संस्थानको बिक्री केन्द्र सञ्चालन

दाङको घोराहीमा दुग्ध विकास संस्थानले दुग्धजन्य बस्तु बिक्रि केन्द्र सञ्चालनमा ल्याएको छ । संस्थानको नेपालगंज वितरण आयोजना कोहलपुरमार्फत दाङमा पनि शाखा बिस्तार गरी बिक्री केन्द्र संचालनमा ल्याएको हो ।

घोराही–१४ को राप्ती टोलबाट सेवा सुरु गरेको बिक्रि केन्द्रको शुक्रबार एक कार्यक्रमका बिचमा उद्घाटन गरिएको छ । दुग्ध विकास संस्थान नेपालगंज वितरण आयोजना कोहलपुरका प्रमुख योगेन्द्र शाहको अध्यक्षता तथा दुग्ध विकास संस्थानका अध्यक्ष बसन्त गिरीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।

त्यस अवसरमा संस्थानका अध्यक्ष गिरीले पहिलो चरणमा बिक्री केन्द्र स्थापना गरिएको दाङलाई भविष्यमा दुधको हवका रुपमा निर्माण गर्ने योजना रहेको बताए । दुध उत्पादनका दृष्टिकोणले दाङ राम्रो सम्भावना भएको क्षेत्र भएकाले आगामी दिनमा स्थानीय सरकारसँगको सहकार्यमा संस्थानले घोराही क्षेत्रमा दुध संकलन केन्द्रसमेत निर्माण गरी प्रशोधन गरेर बजारीकरण लाग्ने योजना राखेको उनले बताए ।

कोरोना महामारीका बेलामा बजारमा दुधको खपत अहिले आधा घटेको बताउँदै उनले संस्थानले घाटा सहेर भएपनि कृषकले उत्पादन गरेको दुध खरीद गरी व्यवस्थापन गरिरहेको बताएका थिए ।