महामारीका बेला पनि संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले दशै भत्ता बुझेकोप्रति चर्को विरोध भइरहेका बेला लुम्बिनी प्रदेश सरकार तथा प्रदेशसभाका जनप्रतिनिधिहरुले दशै खर्च लिएका छैनन ।
अहिलेसम्म दशैको नाममा कुनै खर्च नलिएको लम्बिनी प्रदेशका मुख्यमन्त्रि शंकर पोख्रेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले आइतबार विज्ञप्ति निकालेर स्पष्ट पार्नुभएको छ ।
केसीले जारी गरेको विज्ञप्तिमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, सभामुख, उपसभामुख तथा प्रदेशसभा सवै सदस्यहरुले दशैको नाममा कुनै खर्च अहिलेसम्म नलिएको उल्लेख छ ।
राजधानी र नामको निक्र्यौल गरी लुम्बिनी प्रदेश संस्थागत गर्ने नयाँ विन्दुमा पुगेको उल्लेख गर्दै विज्ञप्तिमा प्रदेशलाई पारदर्शी बनाउने प्रतिवद्धता जनाइएको छ ।
विज्ञप्तिमा संघीय प्रणालीलाई व्यवहारिक कार्यान्वयनतर्फ लैजाने र जनअपेक्षाअनुसार काम गर्ने उल्लेख गर्दै आवस्यक सहयोगका लागि सवैमा अपील समेत गरिएको छ ।
प्रदेशको विकासका लागि मागको आधारमा भन्दा आवधिक योजनाका आधारमा बजेटको व्यवस्थापन गरिने उल्लेख छ ।