२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

दाङमा धमाधम बन्द हुन थाले खुलेका विद्यालय

केहि दिनअघि पढाइ सञ्चालन भईरहेको शान्तिनगर गाउँपालिकाको बीरेन्द्र मावि ।

कोरोनाको कहरका बीचमा नै सञ्चालन आएका दाङका विद्यालयहरु पुन धमाधम बन्द हुन थालेका छन्।

चाड पर्वमा पनि केही दिन मात्रै बन्द गर्ने र अन्य समयमा नियमित रुपमा सञ्चालन गर्ने नीति लिएका दाङका पालिकाहरुले पछिल्लो समय विद्यालय धमाधम बन्द गराउन थालेका हुन्।

समुदायमा कोरोना संक्रमणको उच्च हुँदै गएको र अभिभावकहरुबाट बालबालिकामा कोरोना संक्रमण हुने भयले सार्वजनिक सूचना नै जारी गरेर विद्यालयहरु धमाधम बन्द हुन लागेका हुन्।

जिल्लाका दशवटा पालिकामध्ये अधिकांशले खुलेका विद्यालयहरु बन्द गराइ सकेका छन्। एक दुई वटाले मात्रैले नियमित सिकाई केन्द्रको रुपमा सञ्चालन गरेका छन्।

लामो समयसम्म बन्द भएका दाङका विद्यालयहरु असोज १ गतेदेखि नियमित सञ्चालनमा आएका थिए। नियमित सञ्चालन भएको एक महिनामै पुन विद्यालय बन्द हुन थालेका हुन्।

तर पछिल्ले समय जिल्लामा कोरोना संक्रमितहरु बढेपछि शिक्षक, पालिकाका शिक्षा प्रमुखहरु अत्तालिएका छन्। सिकाइ केन्द्रका रुपमा विद्यालय सञ्चालन गर्दा भयावह अवस्था हुनसक्ने त्रासका कारण विद्यालयहरु पुनः बन्द गर्नुपरेको पालिकाका शिक्षा प्रमुखहरुको भनाइ रहेको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ।