बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लेख गरेको गुणस्तरलाई बेवास्ता गर्दै बियर भनेर गुणस्तरहीन लोकल रक्सी उत्पादन गरी बिक्री गर्दै आएको पाइएको छ । गुणस्तरहीन लोकल रक्सी उत्पादन गरी बिक्री गर्दै आएको पाएपछि आन्तरिक राजस्व विभागले कारबाही प्रक्रिया अघि बढाएको छ ।
खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर विद्यमान ऐन र मापदण्डविपरीत उत्पादन गरी बिक्री गरेको भन्दै कारबाहीका लागि चौतर्फी दबाब आएपछि अहिले आन्तरिक राजस्व विभाग कारबाही गर्न अघि बढेको हो ।
अहिले विभागलाई चेकजाँचविना स्वीकृति दिएको र सरकारी निकायकै कर्मचारीको मिलेमतोमा गुणस्तरहीन बियर उत्पादन गरी महँगोमा बिक्री गर्दै आएको आरोपसमेत लगाइएको छ । गोर्खा ब्रुअरीद्वारा उत्पादित यस्ता बियर मापदण्डविपरीत र मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खालको भएपछि अहिले विभागले यस्ता बियर बजारमा पठाउन र बिक्री वितरण गर्नसमेत रोक लगाएको छ ।
विभागले वर्गीकरणमार्फत हाल यस्ता बियरलाई ‘लोकल रक्सी’ को सूचीमा राखेको छ । सरकारी निकायकै केही कर्मचारीको मिलेमतोमा गोर्खा ब्रुअरीले सर्वसाधारणमाथि ठगी धन्दा सञ्चालन गर्दै आएको र सो कम्पनीमाथि व्यापक अनुसन्धान हुनुपर्ने सम्बन्धित सरोकारवालाको माग छ । यस्ता बियरमा जौको मात्रा ५० प्रतिशत हुनैपर्ने प्रावधान छ । तर, गोर्खा ब्रुअरीले बियरमा जौको सट्टा कमसल खालको कनिका प्रयोग गरी महँगोमा बिक्री गर्दै उपभोक्तालाई ठगिरहेको पाइएको खबर राजधानी दैनिकमा छ ।