२०७७ मङ्सिर २० गते शनिवार
२०७७ मङ्सिर २० गते शनिवार

राष्ट्रपतिद्वारा पुनर्निर्माण गरिएको रानीपोखरीको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छिन् । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माण सम्पन्न भएपछि बुधबार राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षति भएका सबै संरचनाहरुको पुनर्निर्माण छिट्टै सम्पन्न हुने विश्वास समेत व्यक्त गरिन् । यस्तै राष्ट्रपति भण्डारीले सबै सांस्कृतिक सम्पदालाई मौलिक स्वरुपमा निर्माण गर्न सक्षम हुने आशा समेत व्यक्त गरिन् । करिब ३ सय वर्ष अघि कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको छुट्टै सांस्कृतिक महत्त्व भएको पनि उनले बताइन् ।

रानीपोखरीको पुननिर्माणका लागि २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले शिलान्यास गरेकी थिइन् । यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ । रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलीबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्रै रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न भएको छ ।

भूकम्पले क्षतिग्रस्त रानीपोखरी प्राचीन शैलीमै पुनर्निर्माण गरिएको हो । पोखरीमा एउटामा ३ करोड लिटर र दुईवटामा ९ करोड लिटर पानी अट्ने तीन तह रहेका छन् ।

वर्षाको पानीले तह भरिने र धेरै भए बाहिर निकास गर्ने प्रणालीसहित रानीपोखरीको पुनर्निर्माण गरिएको प्राधिकरणले जनाएको छ । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पनि प्राचीन शैलीमै निर्माण गरिएको छ ।