२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

बाहिनी चोकमा ट्राफिकका लागि आइल्याण्ड स्थापना

तुलसीपुरको बाहिनी चोकमा रोटरी र रोट्रयाक्ट क्लवले मिलेर ट्राफिकका लागि आइल्याण्ड स्थापना गरेका छन् । आइल्याण्डको विहीवार विहान तुलसीपुर उपहानगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष विरेन्द्र शाह र वडा नं. ६ का अध्यक्ष नवराज लामिछानेले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

यी दूई सामाजिक संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यक्रम अन्तरगत झन्डै डेढ लाख खर्च गरि ट्राफिक प्रहरीका लागि आइल्याण्ड निर्माण गरिएका हुन । आइल्याण्डमा एउटा भित्रे घडी समेत राखिएको छ । त्यो सर्वसाधारण मानिसहरुलाई समयको महत्व बुझाउनका लागि हो । सबैले समयको महत्व बुझुन र समयको सही सदुपयोग गरुन भन्ने उदेश्यका साथ सांकेतिक रुपमा आइल्याण्डमा भित्रे घडी राखिएको रोटरी क्लवका अध्यक्ष सुरेश हमालले बताए ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै वडा नं. ५ का वडाध्यक्ष विरेन्द्र शाह र वडा नं. ६ का अध्यक्ष नवराज लामिछाने रोटरी र रोट्रयाक्टको भूमिका उदाहरणीय भएको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा रोटरी क्लवका पूर्व अध्यक्षहरु विमल रिजाल, विरु रावत, अनुपकुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंह, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्रबहादुर केसी लगाएतको सहभागिता थियो । कार्यक्रम रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष सुरेश हमाललको अध्यक्षमा भएको हो ।

रोट्रयाक्ट क्लवका अध्यक्ष प्रमिस लामिछानेको स्वागत मनतव्यवाट कार्यक्रम सुरु भएको थियो भने सहजीकरण पत्रकार शरद रेग्मीले गरेका हुन ।