२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दशैं पारिवारिक मेलमिलाप, भातृत्व र स्नेहको पर्व : मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपालीहरुको महान चाड बडादशैं २०७७ को उपलक्ष्यमा स्वदेश तथा बिदेश बस्ने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई शुभकामना व्यक्त गरेका छन ।

शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले दशैं नेपालीहरुको मौलिक पर्व तथा पारिवारिक मेलमिलाप, भातृत्व र स्नेहको पर्व भएकाले नेपाली समाजमा सांस्कृतिक पर्वहरुले सद्भाव, भातृत्व र मेलमिलाप बढाउन भूमिका खेल्दै आएको बताउँदै नेपालीहरुको सबैभन्दा ठूलो चाड भएकाले दशैंले सद्भाव, मेलमिलाप र भातृत्व व्यापक बनाउन झनै महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन ।

मुख्यमन्त्री पोखरेलको शुभकामना सन्देश :
नेपालीहरुको ठूलो चाड बडादशैंको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एंव उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

दशैं नेपालीहरुको मौलिक पर्व हो । यो पारिवारिक मेलमिलाप, भातृत्व र स्नेहको पर्व हो । नेपाली समाजमा सांस्कृतिक पर्वहरुले सद्भाव,भातृत्व र मेलमिलाप बढाउन भूमिका खेल्दै आएका छन् । नेपालीहरुको सबैभन्दा ठूलो चाड भएकाले दशैंले सद्भाव, मेलमिलाप र भातृत्व व्यापक बनाउन झनै महत्वपूर्ण भूमिका खेल्दै आएको छ । व्यक्ति,परिवार र समाजलाई एकताको मालामा जोड्ने दशैं पर्वको मौलिकता जोगाउन सक्नुपर्छ । पर्व विशेषको मौलिक संस्कृति हस्तान्तरण नयाँ पुस्ताका लागि महत्वपूर्ण उपहार हुनसक्छ । मौलिक पक्षलाई ख्याल गरेर पर्वलाई मनाउन हामी सबैले ध्यान दिऔं, जसले समाजलाई एकताको सुत्रमा बाँध्न सकिन्छ । समाज एकताबद्ध हुँदा मुलुकको सार्वभौमसत्ता र अखण्डता बलियो हुन्छ ।

राजनैतिक दलहरुको अगुवाईमा सबैको एकताबद्ध प्रयासले जनतालाई रैतीबाट नागरिक बनाएको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत र बलियो हुँदै अघि बढेको छ । यतिखेर हामी संघीयताको व्यवहारिक कार्यान्वयनको चरणमा अघि बढिरहेका छौं । केही साता अघि प्रदेशको नाम र राजधानी टुंगो लगाउँदै सिंगो प्रदेशले अपनत्व गर्ने वातावरण बनाउन सफल भएका छौं । प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका हुँदा प्रदेशको साझा मनोविज्ञान तयार भएको छ । संघीय शासन प्रणालीको मर्म अनुसार प्रदेशको नाम र राजधानीको टुंगो लगाएर हामी नयाँ विन्दुमा आएका छौं, जसले फराकिलो यात्राको ढोका खोलेको छ । हामी प्रदेशको विकास र समृद्धिका माध्यमवाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका छौं । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका छौं । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु ।

विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ ले यतिखेर सिंगो समाज पिल्सिएको छ । कोभिड १९ को जोखिमबाट नागरिकलाई जोगाउन तहगत सरकारहरुले निकै मिहिनेतपूर्वक काम गरिरहेका छन् । कोरोना संक्रमित लगायत सबै खालका बिरामीको उपचार सहज बनाउन स्वास्थ्य पूर्वाधार विकासलाई जोड दिइरहेका छौ । नागरिकको सार्थक सहयोगबाट मात्रै यो महामारीलाई जित्न सकिन्छ । कोरोना विरुद्धको संघर्षलाई परिणाममुखी बनाउन सबैले सामाजिक दुरी कायम गर्दै दैनिकी अघि बढाउन आवश्यक छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै बडा दशैंलाई घरभित्रै मनाऔं । बडा दशैंमा हुने ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले त्यस्ता जमघट नगरौं । । कोभिड १९ को महामारीलाई जितेपछि आगामी वर्षको बडा दशैं सहितका पर्वलाई विगतमा झै भव्य र उल्लासमय वातावरणमा मनाउने नै छौं ।

अन्त्यमा, बडा दशैंको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमलय शुभकामना ।