२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

घरायसी विवादमा चिर्पटले हानेर श्रीमतीको हत्या

सांकेतिक तस्वीर ।

चिर्पटले हानेर म्याग्दीको मालिका–२ खबामा गएराती एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।

ओमबहादुर दमाईले चिर्पट प्रहार गर्दा उनकी ४४ वर्षीय श्रीमती रिमा दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय (जिप्रका) म्याग्दीले जनाएको छ।

चिर्पट प्रहार गर्ने ओमबहादुरलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक (डीएसपी) किरणजंङ्ग कुँवरले जानकारी दिए। ‘मृतकको शव पोष्ट मार्टम (परीक्षण)का लागि बेनी अस्पताल ल्याइँदै छ’, उनले भने, ‘ओमबहादुरलाई पनि थप अनुसन्धानका लागि जिप्रका ल्याउन लागिएको छ।’

घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक बलराम पौडेलका अनुसार घरायसी विवादमा भनाभन हुँदा मदिरा सेवन गरेका ओमबहादुरले श्रीमतीलाई दाउराको चिर्पट प्रहार गरेको स्वीकार गरेका छन्।

स्थानीयले इलाका प्रहरी कार्यालय दरवालाई खबर गरेपछि राति नै प्रहरी टोली घटनास्थल पुगेको थियो। राती १०.३० बजे घटना भएको थियो।