२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

प्रादेशिक अस्पतालले अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउने

दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालले आफ्नो अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउने तयारी गरेको छ ।

अस्पतालको ६ बिघा १७ कठ्ठा जग्गामध्ये करिब डेढ बिघा क्षेत्रफल अतिक्रमण गरेर घर टहरा निर्माण भएपछि हटाउने तयारी थालेको अस्पतालले जनाएको छ । केही दिनमै अस्पतालले सर्वपक्षीय बैठक बोलाउने तयारी गरेको राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

अतिक्रमित जग्गा खाली गराउनका लागि २०७२ सालदेखि अस्पताल विकास समिति र अस्पताल प्रशासनले कानुनी प्रक्रिया अघि बढाएको हो । अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउन अस्पतालले ९० दिन, ४५ दिन, ३५ दिन र १५ दिने सूचना समेत जारी गरी सकेको छ ।

समितिका अध्यक्ष न्यौपानेका अनुसार अस्पतालको भवनदेखि दक्षिणतर्फ सडकको पूर्व पश्चिममा गरेर ८ वटा घर बनेका छन् भने उत्तरतर्फ ईलाका प्रहरी कार्यालय जाने सडकको पश्चिमतर्फ करिब २५ वटा घरटहरा निर्माण भएको खबर उज्यालो अनलाइनमा प्रकाशित छ।