२०८१ कार्तिक २३ गते शुक्रवार
२०८१ कार्तिक २३ गते शुक्रवार

फ्रान्सेली सामान बहिष्कारको माग गर्दै बङ्गलादेशमा प्रदर्शन

बङ्गलादेशको राजधानी ढाकामा फ्रान्सको सामान बहिष्कारको माग गर्दै दशौँ हजार मानिसले विरोध प्रदर्शन गरेका छन् । इस्लामिक अतिवादविरुद्ध फ्रान्सले लिएको कडा नीतिको विरोधमा बङ्गलादेशमा विरोध प्रदर्शन भएको हो ।

प्रदर्शनकारीले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँको पुतला जलाएको बीबीसीले जनाएको छ ।

म्याक्रोले फ्रान्सेली पत्रिकामा पैगम्बर मोहम्मदमाथि छापिएको कार्टुनको समर्थन गरेपछि इस्लामिक राष्ट्रमा फ्रान्सविरुद्ध विरोध प्रदर्शन भइरहेको खबरमा उल्लेख गरिएको छ ।

प्रहरीको अनुमानअनुसार फ्रान्सविरुद्धको विरोधमा झण्डै ४० हजार मानिसहरु सहभागी थिए । यो कार्यक्रमको आयोजना इस्लामी आन्दोलन बङ्ग्लादेशले गरेको हो । यो बङ्ग्लादेशको ठूलो इस्लामिक पार्टीमध्ये एक हो ।

प्रदर्शनकारीहरुले फ्रान्सेली सामान बहिष्कारको नारा लगाइरहेका थिए र राष्ट्रपति म्याक्रोँलाई सजाय दिन माग गरिरहेका थिए ।

गएको सोमबार टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोआनले पनि फ्रान्सका सामान बहिष्कार गर्न आफ्ना नागरिकलाई आह्वान गर्नुभएको थियो । त्यसपछि युरोपेली देशका सरकारले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँको समर्थन गर्दै टर्कीका राष्ट्रपति अर्दोआनको आलोचना गरेका थिए ।

यस महिनाको सुरुवातमा पैगम्बर मोहम्मदलाई लिएर छापिएको एक कार्टुनको विषयमा फ्रान्समा एक शिक्षकको शरीरबाट शिर अलग गरेर हत्या गरिएको थियो ।