२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

सुर्खेतमा २५० क्‍विन्टल चामलसहित ट्रक नियन्त्रणमा

सुर्खेतबाट बाहिर ढुवानी हुँदै गरेको शंकास्पद खाद्यान्न बिहीबार सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

खाद्य संस्थानको चामल बिक्री गर्न लागिएको आशंकामा सुब्बाकुनाबाट सुर्खेत प्रहरीले ट्रकसहित चामल नियन्त्रणमा लिएको हो ।

उक्त चामल ट्रकबाट भक्तपुर लैजान लागिएको थियो । जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र भट्टका अनुसार ट्रकमा २ सय ५० क्विन्टल चामल रहेको छ ।

वीरेन्द्रनगरको दुर्गा भगवती सप्लायर्सले भक्तपुरको अजय सप्लायर्सको नाममा बिल बनाएको छ । प्रतिकेजी ४२ रूपैयाँको दरले बिल काटिएको छ । दुर्गा भवानी नेपाल खाद्य संस्थानको खाद्यान्न ढुवानीकर्ता व्यापारिक फर्म हो ।

वासुदेव शर्माको स्वामित्वको सप्लायर्सले कर्णालीको हिमाली जिल्लामा ढुवानीको जिम्मा लिएको छ । संस्थानको चामल बेच्न लगिएको शंका गरिएकाले ट्रकसहित चामल बरामद गरिएको एसपी भट्टले बताए । प्रहरीले सप्लायर्सको वीरेन्द्रनगरस्थित गोदामसमेत सिल गरिएको उनको भनाइ छ ।